आइफोन-१३ का ४ मोडल सार्वजनिक, आधा घन्टासम्म पानीभित्र काम गर्ने, मूल्य कति ?

एजेन्सी

बुधबार, ३० भदौ २०७८, १४ : ३२
आइफोन-१३ का ४ मोडल सार्वजनिक, आधा घन्टासम्म पानीभित्र काम गर्ने, मूल्य कति ?

एप्पलले मंगलबार अबेर राति क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रममार्फत् आइफोन-१३ सार्वजनिक गरेको छ । जसमा आइफोन-१३ सिरिजसँगै इन्ट्री लेवल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ छन् ।

पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स बनाएको कम्पनीको दाबी छ ।कम्पनीले आइफोन-१३ मा ४ वटा मोडल सार्वजनिक गरेको छ । जसमा आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स छन् । आइफोन-१३ मिनी र आइफोन-१३ लाई एउटै वर्गमा राखिएको छ ।

आइफोन-१३ मिनीमा ५.४ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले छ । रिजोलुसन २३४० x१०८० पिक्सल र डेन्सिटी ४७५ पीपीआइ छ । साथै आइफोन-१३ मा ६.१ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले छ । जसमा २५३२ x११७० पिक्सल र डेन्सिटी ४७६पीपीइ रिजोलुसन छ ।

यो डिस्प्ले एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्छ । यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ । यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ । दुबै फोनमा एल्मुनियम डिजाइन दिइएको छ । यी दुबै मोडललाई प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा खरिद गर्न सकिनेछ । यसको डिस्प्लेमा सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाको प्रयोग गरिएको छ ।

दुबै मोडल १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा अपलब्ध हुनेछन् । आइफोन-१३ मिनीको तौल १४१ ग्राम र आइफोन-१३ को तौल १७४ ग्रामको छ । दुबै फोन पूर्णरूपमा वाचर प्रुफ छन् । अर्थात् ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म मज्जाले काम गर्नेछ ।

दुबै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ । जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ । राम्रो फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्ट जस्ता सुविधा पनि छन् । ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डीप फ्युजन स्मार्ट एचडीआर४, लाइभ फोटोको मोड पनि छ ।

ब्याट्रीको कुरा गर्दा लिथियम आयन ब्याट्री हुनेछ । जुन १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआइ वायरलेस सपोर्ट गर्छ । कम्पनीका अनुसार ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

आइफोन-१३ मिनीमा १७ घन्टाको भिडियो प्लेब्याक, १३ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।साथै आअफोन-१३ मा १९ घन्टाको भिडियो प्लेब्याक, १५ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।

आइफोन- १३ प्रो र आइफोन-१३ प्रो म्याक्स

आइफोन-१३ प्रोमा ६.१ इञ्चको सुपर रेटिनाका साथै विभिन्न सुविधा छन् । यसको तौल २०३ ग्राम र आइफोन-१३ प्रो म्याक्सको तौल २३८ ग्रामको छ ।
दुबै मोडलमा १२ मेहापिक्सलको ट्रिपल रियर क्यामरा छ । टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ ।

मूल्य कति ?

आइफोन-१३ मिनीको मूल्य ६९९ डलरदेखि ९९९ डलरसम्म पर्छ । साथै आइफोन-१३ को मूल्य ७९९ डलरदेखि १०९९ डलरसम्म, आइफोन-१३ प्रोको मूल्य ९९९ डलरदेखि १४९९ डलरसम्म र आइफोन-१३ प्रो म्याक्सको मूल्य १०९९ डलरदेखि १५९९ डलरसम्म पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस