इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन

रासस

बुधबार, ३० भदौ २०७८, १२ : २८
इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

 अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो । जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोगविहीन तार हटाउन र नयाँ तार जडान गर्न नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ ।

 प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा इन्टरनेट तथा केबुल नेटवर्कका तार व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकले टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडेगलेका एवं स्थानान्तरण गरी सडकमै छाडिएका खम्बा तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

त्यस्तै, बैठकले असोज ६ गते नेपाल टेलिकम सुर्खेत कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवाप्रदायक निकायका प्रतिनिधिसहितको टोलीले यो निर्देशन पालना भए नभएको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस