सभामुखसँग ओलीको असन्तुष्टि किन ?

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, १० : ३४
सभामुखसँग ओलीको असन्तुष्टि किन ?

काठमाडौं । सभामुख अग्नि सापकोटा र एमाले अध्यक्ष केपी ओलीबीच यति विघ्न तिक्त्तता सम्वन्ध छ कि, त्यसकै परिणाम अहिले संसदमा एमालेले सदन अवरुद्ध गरिरहेको छ । एमालले सभामुख सापकोटाले कि आफूहरुले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने, कि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सर्त तेसारेको छ । 

एमालेको यो शर्त कुनै सैदान्तिक राजनीतिक धरातलमा टेकेर आएको होइन । सभामुख सापकोटासँगको व्यक्तिगत तिक्तताका सम्बधका कारण एमालेले सभामुखमाथि यी दुई सर्त तेसारेर बखेडा झिकिरहेको छ ।

सभामुखप्रति यति असहिष्णु ओली किन बनिरहेका छन् ? यो थाहा पाउन पहिलादेखिकै केही तथ्य केलाउनुपर्ने हुन्छ । ओली र अग्नि सापकोटाबीचको तिक्ततापूर्ण सम्बन्ध अहिलेदेखिको होइन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा सभामुख रहेका बेला उनलाई ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा पेस गरेर पारित गराउन निक्कै दबाब दिए ।

तीन पटकसम्म ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दबाब दिएका थिए । तर ओलीको दबाबमा महरा परेनन् । उनले एमसिसी सहमतिविना अगाडि नलैजाने भन्दै अडान निरन्तर लिए । त्यसपछि उनीमाथि अनेक काण्ड लगाउने काम भयो। महरा पदमुक्त भए । त्यसपछि ओलीले सभामुखमा आफनो कोर टिमका सुवास नेम्वाङ या डा शिवमाया तुम्वाहाम्फेमध्ये एकलाई बनाउन निक्कै जोडबल गरे ।

तर नेकपाभित्रको समिकरणमा ओली कमजोर अवस्थामा पुगिसकेका थिए । उनले जति गर्दा पनि तत्कालिन नेकपाको सचिवालयमा ओलीको प्रस्तावमा सहमति जुट्न सकेन । अग्नि सापकोटा सभामुख बने । ओलीले नचाहँदा नचाहँदै पनि सभामुखमा सापकोटाले बाजी मारे ।

त्यही बेलादेखि ओली सापकोटासँग सन्तुष्ट थिएनन् । त्यसमाथि सभामुख निर्वाचित भएर आएसँगै सापकोटाले एमसिसी अगाडि बढाउन साथ देलान्, नदेलान ओलीमा भय थियो । तर पनि उनी प्रधानमन्त्रीको कुर्सीबाट दबाब दिँदा सापकोटाले मानिहाल्छन् कि भन्ने भय पालेका थिए । सहज नमाने अदालतमा रहेको द्वन्द्वकालको मुद्दा देखाएर तर्साउने र गलाउनेसम्मको रणनीतिमा ओली लागेका थिए ।

तर सापकोटाले पनि महराले  जस्तै सभामुख निर्वाचित भएर आएको दोस्रो दिनमै एमसिसीका विषयमा दलहरुका बीचमा सहमति नबनेसम्म अगाडि बढाउन नसकिने पत्रकारहरुसँगको भेटमा बताएका छन् । त्यसपछि उनले पनि एमसिसी अगाडि बढाउँदैनन भन्ने ओलीलाई परेको थियो । सभामुख प्रचण्डले भनेको मान्छन् भन्ने त्यही बेलादेखि ओलीलाई लाग्यो भने आफूमाथि अनुचित दबाब दिएर अनावश्यक धम्कीयुक्त भाषा ओलीले प्रयोग गर्न सक्छन् भनेर सभामुख सापकोटा भने ओलीप्रति निक्कै सजग भएर सचेतताका साथ प्रस्तुत हुन थाले ।

यसले पनि ओली र सभामुख सापकोटाका बीचमा अस्वस्थ्य द्वन्द्व शुरु भयो । त्यसबीचमा ओलीले संसद अधिवेशन अन्त्य गर्ने, बोलाउने जस्ता विषयमा सभामुखसँगको परामर्शका आधारमा गर्नुपर्ने भए पनि एकलौटी गर्न थाले । संसद अधिवेशन अन्त्य हुने कुरा सभामुखलाई सुइँकोसम्म पनि लाग्न छोड्यो ।

सम्वैधानिक परिषदमा ओलीले आफू खुसी मान्छेहरु नियुत्तिका अनेक प्रयास गरे । सभामुखले ओलीको त्यस्तो प्रयासमा पनि तगारो हालिदिए । संसद ओलीले दुईदुई पटक विघटन गरिदिए । एउटा कार्यपालिका प्रमुखका विरुद्ध अर्को ब्यवस्थापिका प्रमुख अदालतसमेत जानुपर्ने अवस्था निम्त्यो ।

ओलीले गरेको संसद विघटनदेखि सम्वैधािनक नियुक्तिहरुमा सभामुख अदालत समेत पुगे । यसबाट पनि ओली र सापकोटका बीचमा अस्वस्थ प्रतिस्पर्धा चल्यो । जसले सम्बन्ध दुश्मनीपूर्ण अवस्थामा पुग्यो । पछिल्लो पटक ओलीले माधव नेपालहरुले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि कारवाहीको सिफारिस गरे । आफ्नै पार्टीभित्रको जालसाक्षीपूर्ण निर्णय र कागजपत्र बनाएर कारवाही सिफारिस गरेर सदनमा पदमुक्तको लागि एमालेले पत्राचार गरेको थियो । तर सभामुख सापकोटाले कानुनले दिएको अधिकारकै उपयोग गर्दै त्यसलाई हतारमा निर्णय नलिइ अध्ययनको चरणमा राखे ।

त्यहीबीच दल विभाजनसम्वन्धी अध्यादेशका आधारमा एमाले विभाजित भयो । सभाुमखले माधव नेपाललाई पदमुक्त नगरेको भन्दै एमाले त्यसपछि सभामुख विरुद्ध उभिएको छ । सभामुखको भूमिका निश्पक्ष नभएको भन्दै उसले संसदमै सभामुख विरुद्द निरन्तर नारावाजी गर्दै संसद अवरुद्ध गर्दै आएको छ । उसको यसमा कुनै अन्य कारण छैन ।

एकातिर सरकार छोडनु परेको पीडा, अर्कोतिर आफनो सरकारका बेलामा गरेको असम्वैधानिक कदम र बदनाम पात्रहरुको नियुक्ति प्रकरण लगायतले ओलीसहितको एमाले जनस्तरमा कमजोर बन्न पुगेको छ । केन्द्रदेखि प्रदेशसम्मका सरकार उसको गुम्दै गएको छ । दुइृ प्रदेश सरकार गुमिसकेको छ भने बाँकी दुई गुम्ने चरणमा तामेलीमा छन् । त्यसको पीडा एमालेले भूल्न सकेको छैन । त्यही आक्रोश अहिले के गरेर देखाउने भन्ने एमालेलाई राजनीतिक इस्यु चाहिएको छ । त्यसैमा उसले सभामुखमाथि आक्षेप लगाउने निहँ पाएको छ ।

प्रतिक्रिया दिनुहोस