राष्ट्रिय विज्ञान दिवस मनाइँदै

रासस

सोमबार, २८ भदौ २०७८, २२ : ०८
राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

CG Developers Tansen Cement box

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताए ।

सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ ।

‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ । विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।