यूएइले गर्यो भिसा नियम खुकुलो बनाएको घोषणा

एजेन्सी

सोमबार, २१ भदौ २०७८, १५ : १०
यूएइले गर्यो भिसा नियम खुकुलो बनाएको घोषणा

संयुक्त अरब इमिरेट्स वा यूएईले आइतबार एउटा ठूलो निर्णय गर्दै अन्य देशबाट रोजगारीमा आउनेहरुका लागि अपनाइने कडा नियम खुकुलो बनाएको घोषणा गरेको छ ।

यो निर्णयपश्चात् अब त्यहाँ काम गर्ने कामदार रोजगारदाता कम्पनीले स्पोन्सर नगरिकनै त्यहाँ बस्न र काम गर्न सक्नेछन् । यूएईमा अन्य देशका नागरिकले एक सिमित समयका लागि मात्रै भिसा पाउँथे जबकी अन्य थुप्रै देशमा एक निश्चित समयसम्म बसेपछि विदेशी नागरिकले लामो समय बस्न पाउने रेसिडेन्सी व्यवस्था हुन्छ ।

यसअघि यूएईले रेसिडेन्सीको दर्जा पूर्ण रुपमा जागिरसँग जोडिएको थियो जसका कारण यदि कुनै व्यक्तिको जागिर छैन भने ती व्यक्तिले देश छोड्नु पर्दथ्यो ।अब नियम परिवर्तन भएपछि विदेशीलाई कम्पनीले स्पोन्सर नगरेपनि बस्न सक्छन् । यसका साथै, उनीहरुले थुप्रै सुविधा पनि पाउनेछन् ।

कस्ता छन् सुविधा ?

– यदि कुनै कर्मचारीको जागिर गुम्यो भने उनीहरु थप तीन महिनासम्म त्यहाँ बसेर अर्को जागिर खोज्न सक्छन् ।

– साथै, त्यहाँ बसिरहेका विदेशी आफ्ना आमा–बुवा र २५ वर्षसम्मका सन्तानको भिसा पनि स्पोन्सर गर्न सक्छन् ।

– यसैगरी त्यहाँ बसेर काम गर्ने फ्रिलान्सर, विधवा वा सम्बन्धविच्छेद भएकाहरुलाई भिसा नियममा छुट दिइएको छ ।

यूएईका विदेशी व्यापार राज्यमन्त्री थनी अल–जेयुदीले एक अन्तरवार्तामा उनको देशले अबको ५० वर्षको अर्थव्यवस्था तयार गरिरहेका र भिसा नियममा छुटको निर्णय, त्यसैको एउटा पाटो भएको जानकारी दिए ।

उनले भने, ‘हामी पूरा व्यवस्थालाई पुनः बनाउन चाहन्छौं ताकि रेसिडेन्सी सिस्टम यस्तो होस् जसका कारण मानिसहरु यहाँ आउनका लागि आकर्षित होउन् र उनीहरुलाई लागोस् कि यूएई उनीहरुको आफ्नै घर हो ।’

यूएईले यसअघि धनी व्यक्ति र उच्च कौशल भएका व्यक्तिलाई आकर्षित गर्नका लागि सन् २०१९ मा पनि १० वर्षको अवधि पूरा गर्नेलाई गोल्डेन भिसा दिन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस