डब्लुएचओले दक्षिण पूर्वी एशियाको महामारी र स्वास्थ्य सेवाबारे छलफल गर्ने

एजेन्सी

शुक्रबार, १८ भदौ २०७८, १५ : २८
डब्लुएचओले दक्षिण पूर्वी एशियाको महामारी र स्वास्थ्य सेवाबारे छलफल गर्ने

काठमाडौँ । विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशियाका मन्त्रीहरूबीच आगामी साता महामारी र स्वास्थ्य सेवाबारे छलफल हुने भएको छ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्व एसियाका लागि क्षेत्रीय कार्यालयले अर्को साता एशिया क्षेत्रका सदस्यहरु देशहरुका स्वास्थ्य मन्त्रीहरुबीच छलफल हुने जनाएको हो।

हाल चलिरहेको महामारी र स्वास्थ्य क्षेत्रका लागि आवश्यक स्वास्थ्य सेवा ‘अझ राम्रो बनाउने’ आयामहरु र वर्तमान स्वास्थ्यका प्रमुख मुद्दामा छलफल हुने छ।

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्व एसियाको ७४ औँ क्षेत्रीय समिति क्षेत्रमा विश्व स्वास्थ्य संगठनको वार्षिक बैठक नेपालले ६ देखि १० सेप्टेम्बरसम्म आयोजना गर्दै छ।

उक्त बैठकमा संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंह, स्वास्थ्यमन्त्रीहरु र क्षेत्रका सदस्य देशहरुका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघ एजेन्सीहरु, साझेदारहरु, दाताहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुनेछन्।

सार्वजनिक स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया सुदृढीकरण, रोकथाम र गैर–सरुवा रोगहरुको नियन्त्रणको लागि भइरहेको प्रयासको गति बढाउन र भाइरल हेपेटाइटिसको अन्त्य, एचआईभी र एसटीआई अन्य प्रमुख मुद्दाहरुका बारेमा समेत छलफल हुने जनाइएको छ।

विश्वव्यापी स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधिमा निगरानी, ​​स्कूल स्वास्थ्यको पुनर्जीवन, र खोपबाट बच्न सकिने रोगहरुको लागि खोप कार्य योजनाको क्षेत्रीय रूपमा छलफल हुने जनाइएको छ।

यस्तै सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन, अत्यावश्यक चिकित्सा उत्पादनहरुमा पहुँच सुधार, दक्षिण पूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनको लागी प्राथमिक स्वास्थ्य सेवा स्तरमा गैर–सरुवा रोगहरुको सेवाहरुको वितरणलाई छिटो बनाउने जस्ता कुराहरु पनि छलफल गरिने छ।

प्रतिक्रिया दिनुहोस