जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

एजेन्सी

शुक्रबार, १८ भदौ २०७८, १३ : ४५
जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

टोकियो  । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ ।

एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ । जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ ।

जापानमा कोरोनाको लहर रोकिएको छैन । १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ । महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएएको जनाएका छन् ।

सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ । जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहोस