चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

एजेन्सी

विहीबार, १७ भदौ २०७८, १४ : १६
चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

एजेन्सी । उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओको कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । सिमा नाका बन्द, आवतजावतमा कडाइ र भाइरस नियन्त्रणमा सरकारले चालेका कडा कदमका कारण उत्तरलाई महामारीले असर गरेको छैन । 

उत्तरले खोप अस्वीकार गरेको यो पहिलोपटक भने होइन । खोपको नकारात्मक असर दर्शाउँदै जुलाईमा उसले एस्ट्राजेनेकाको २० लाख खोप लिन अस्वीकार गरेको थियो । चिनियाँ खोप प्रभावकारी नभएकाले उसले ती खोप अस्वीकार गरेको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीले जनाएको थियो । उत्तरले अहिले रसियामा बनेका खोपप्रति चासो देखाएको छ ।

पहिलो डोज सिनोभ्याक लगाएका थाइल्यान्ड, उरुग्वेलगायतका देशले शरीरको प्रतिरोध क्षमता बढाउन अर्को खोप दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस