कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी

रासस

मंगलबार, १५ भदौ २०७८, २२ : ०५
कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी गठन गरेकामा आज दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो ।

जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहनुभएको १४१ सदस्सीय महानगर कमिटी गठन गरिएको पार्टीका युवानेता पूर्ण लामाले जानकारी दिए । जिल्ला कमिटीको सचिवमा होम नेपाली चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जङ्गली, शारदाप्रसाद सुवेदी र श्रीनाथ बरालको उपस्थितिमा कमिटी घोषणा गरिएको थियो । पार्टी केन्द्रीय सदस्य गुरुङले सिद्धान्तको कार्यान्वयन र वैचारिकरूपमै मतभेद भएका कारण एमालेबाट विद्रोह गर्नुपरेको बताए ।

उहाँले भन्नुभयो, “एमालेमा पदका लागि विद्रोह गरिएको होइन, कम्युनिष्ट मूल्य, मान्यताभन्दा बलमिच्याइँले अगाडि बढ्ने काम भएको र त्यागी, इमान्दार कार्यकर्ताको संरक्षण नहुने अवस्था आएकाले कम्युनिष्ट आन्दोलन सही ढङ्गले हाँक्न र जनताको सेवा गर्नका लागि विद्रोह ग¥यौँ ।”

जिल्ला अध्यक्ष आचार्यले यही भदौ १८ देखि २१ गतेभित्र जिल्लाका सबै स्थानीय तह र वडामा पार्टी कमिटी गठन गरिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस