साउदीका विद्यार्थी फेरि विद्यालय जान थाले

रासस

सोमबार, १४ भदौ २०७८, १६ : ०४
साउदीका विद्यार्थी फेरि विद्यालय जान थाले

साउदी । लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ । 

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरु विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् । 

घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरुपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीहरुका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन ।

“कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई विद्यालय अझै पनि खुला गरिएको छैन”, एक अधिकारीले भने ।

उनीहरुलाई नयाँ शैक्षिकसत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरुले जानकारी दिएका छन् । भौतिक उपस्थितिमै भइरहेका अध्ययन अध्यापनको कार्यको उप शिक्षामन्त्री साद बिन साउद अल फहिदले कतिपय विद्यालयहरुमा स्थलगत अवलोकन पनि गरेका छन् ।   
उनीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुनेगरी उच्च सतर्कता अपनाउन उनले सबैलाई निर्देशन दिएका छन् । 

“हामीले सवै विद्यालयहरुलाई नजिकबाट निकालिरहेका छौँ, विद्यार्थीहरुको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ”, उनले भने ।

विद्यालयमा विद्यार्थीहरुको प्रवेश, बस्ने व्यवस्था, बाहिरिने व्यवस्थालगायतमा विषेश ध्यान दिन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । 

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विशेष सर्तक गराइएको छ ।
 

प्रतिक्रिया दिनुहोस