कोरोनाबारे नेपालको अडान निष्पक्ष रहेको भन्दै चीनले दियो धन्यवाद

एजेन्सी

सोमबार, १४ भदौ २०७८, १४ : ०६
कोरोनाबारे नेपालको अडान निष्पक्ष रहेको भन्दै चीनले दियो धन्यवाद

काठमाडौँ । चीनले कोरोना भाइरसको उत्पत्तिबारेको विवादमा नेपालको अडान निष्पक्ष रहेको भन्दै धन्यवाद दिएको छ ।नेपालमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले विश्व समुदायमाझ चीनलाई मुछेर भइरहेका विवादमा नेपालको अडान वस्तुगत र निष्पक्ष रहेको भन्दै धन्यवाद दिएका हुन् । सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै उनले कोरोना भाइरसको उत्पत्तिबारे भइरहेको राजनीतिकरणका प्रयासहरुलाई चिर्नका लागि समेत नेपालसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्दै चीनविरुद्ध अभिव्यक्तिहरु सुरुदेखि नै दिँदै आएको थियो ।अमेरिकाको गुप्तचर संस्थाले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले कोरोना उत्पत्तिको विषयमा अनुसन्धान गर्ने कार्यमा अवरोध खडा गर्दै आएको र अन्य मुलुकलाई यसबारे सही डेटा दिन अस्वीकार गरेको आरोप लगाएको थियो ।

उक्त प्रतिवेदनलाई चिनियाँ दूतावासका प्रवक्ताले ‘राजनीतिक प्रयोजन’का लागि सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले सो प्रतिवेदनमा कुनै वैज्ञानिक आधार नरहेको र अन्य देशहरुले पनि स्वीकार गर्न नसक्ने बताएका छन् । साथै कोरोना भाइरसको उत्पत्तिलाई लिएर राजनीतिकरण गर्न भएका प्रयासहरुको विरोध गर्दै केही समय अगाडि ८० भन्दा बढी मुलुकले विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएको दाबी समेत विज्ञप्तीमा पेश गरेका छन् ।उनले नेपालको भूमिका भने निष्पक्ष रहेकोमा प्रशंसा गर्दै चीनले नेपाललाई महामारीविरुद्ध गरेका सहयोगको समेत स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस