एमालेबाट निष्काशन गरेपछि नयाँ दल गठन गर्नुको विकल्प रहेन : माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १३ : ०८
एमालेबाट निष्काशन गरेपछि नयाँ दल गठन गर्नुको विकल्प रहेन : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोमा त्यसलाई चिरेर आफूहरुले नयाँ पार्टी गठन गरेको बताएका छन् । उनले पत्रकारहरुसँग मंगलबार कुरा गर्दै केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको प्रस्ट पारे । उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए ।

उनले ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे । उनले भने, ‘घर न घाटको हुने अवस्था देखिएपछि नयाँ पार्टी बनाउने विषयमा छलफल भयो, केही सहमत हुनुभयो, केहीले भने पार्टी तत्काल नफुटाउँ भन्ने कुरा रह्यो, केहीको तुरुन्त पार्टी खोलौं भन्ने आवाज थियो ।’

जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको उनको आरोप छ । पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए ।

इतिहासमा पनि यस प्रकारको विद्रोह बारम्बार देखिएको उदाहरण दिँदै उनले भने, ‘दोस्रो महाधिवेशनमा केशरजङ्ग हुँदा हुँदै रुपान्तरण सम्भव थिएन र पुष्पलालले विद्रोह गर्नुभयो, यस्तो विद्रोह अनेक पटक भएका छन् ।’

ओलीले आफ्नो पद धरापमा पर्छ भन्ने बुझिसकेपछि संसद विघटन गरेको उनको आरोप थियो । ‘एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेको इतिहास कायम भएको छ,’ उनले भने, ‘त्यसपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र विद्रोहको आवाज उठायौं ।’

केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ भन्ने निष्कर्षमा पुगेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका दलसँग सहकार्य गरेर आफूहरुले संसद, लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए ।

‘विचारमा भिन्नता हुनु स्वाभाविक हो, निर्णय गरिसकेपछि इमानदार पनि हुनुपर्छ । हामी इमानदार बन्यौँ,’ उनले भने, ‘अहिले यो विद्रोहमा उभिरहेको पंक्ति एकतावद्ध छ ।’

एमालेबाट आफूसहित १४ सांसदलाई निष्काशन गरेपछि आफूहरुसामु नयाँ दल गठन गर्नुको अर्को विकल्प नरहेको पनि उनले बताए ।

‘यस्तो अवस्थामा कि त घुँडा टेकेर बस्नुपर्थ्यो, कि त अर्को क्रान्तिकारी पार्टी बनाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले पनि हामीले एकताको च्याप्टर क्लोज गरेका छैनौं । सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने हाम्रो अभियान हो । विचार, मन मिलेपछि एकता हुन्छ ।’

समयक्रममा एकता गर्दै आएको उल्लेख गर्दै नेपालले भने, ‘यो क्रम चलिरहन्छ । केपी ओलीको समूहमा पनि विचार, धारणा परिवर्तन भएछ भने ढोका खुला हुनेछ ।’

तर पार्टी गठन गर्न नदिइ आफूहरुलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको भन्दै उनले यो षडयन्त्रलाई चिर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस