प्रोपोगाण्डा भिडियोबारे प्रधानमन्त्री देउवाले भने, ‘यस्तो भिडियो कसले बनायो ? पत्ता लगाउनू

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, २० : २४
प्रोपोगाण्डा भिडियोबारे प्रधानमन्त्री देउवाले भने, ‘यस्तो भिडियो कसले बनायो ? पत्ता लगाउनू

काठमाडौँ । ‘मलाई देउवा मनपर्छ किनेभने......कारणसहित सामाजिक सञ्जालमा हालिएको यस्तो भिडियोको विषयमा कांग्रेस नेताबीच नै चर्काचर्की भएपछि यस विषय फेरि एक पटक उठान भएको छ । 

तथ्य नै नमिल्ने गरी बनाइएका त्यस्ता भिडिओ हेरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भिडिओ कसले बनाएको हो भन्ने जिज्ञासा राखेका थिए। देउवाले आफ्ना निजी स्वकीय सचिव भानु देउवालाई यस्तो भिडियो कसले बनाएको हो भनेर पत्ता लगाउन निर्देशन दिएका छन् । भिडियो देउवाकै सचिवालयले बनाएको पुष्टि भइसकेको छ । 

सहमहामन्त्री प्रकाशशरण महतले त्यो भिडियो राम्रै भए पनि पार्टी भित्रैबाट विरोध भएकोमा असन्तुष्टि जनाए। स्रोतकाअनुसार सहमहामन्त्री महतले महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालाई लक्षित गर्दै सार्वजनिक भएको प्रधानमन्त्री देउवाको भिडिओबारे सामाजिक सञ्जालमै आलोचना गरेकोमा असन्तुष्टि पोखेका थिए।

‘त्यो भिडिओमा त्यस्तो के थियो र ? सच्याउनुपर्ने भए बरू पार्टी बैठकमै भनेको भए हुन्थ्यो, बाहिर सामाजिक सञ्जालमा लेख्दा नकारात्मक सन्देश गयो,’ महतले भने । महतका कुरा सुनेपछि महामन्त्री खड्काले प्रतिवाद गरेका थिए। ‘देश र पार्टीमा लामो समयदेखि काम गर्दै आउनुभएका सभापतिका चर्चा गरेर त्यस्ता भिडिओ बनाइराख्न जरूरी छैन,’ महामन्त्री खड्काले भने, ‘यसले प्रधानमन्त्रीबारे बाहिर राम्रो सन्देश गइरहेको छैन।’

प्रतिक्रिया दिनुहोस