शान्ति मिसनको परीक्षामा ‘प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १९ : ५०
शान्ति मिसनको परीक्षामा ‘प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) मा प्रश्नपत्र लिक भएको खबर बाहिरिएपछि हेडक्वार्टरले आन्तरिक छानबिन थालेको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा २ हजार ४ सय परीक्षार्थी सहभागी भएका थिए । 

परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वार्टरको युएन शाखाले तयार गरेको थियो । परीक्षामा सो शाखामा कार्यरत डिएसपी वासुदेव पाठक र इन्स्पेक्टर दिनेश पुन पनि सहभागी भएको पाइएको छ । पुन भर्खरै इन्स्पेक्टरमा बढुवा भएका हुन् । डिएसपी पाठक र पुनको योजनामा ४ सेटको प्रश्न तयार गरेर आफ्नो टिमलाई सजिलो प्रश्न पर्ने गरी सेटिङ भएको आरोप लगाइएको छ । 

प्रि–स्याट र स्याट पास गरेका नेपाल प्रहरीका ४० जना भन्दा बढी अधिकृत लामो समयदेखि युएन मिसनमा जान पाएका छैनन् । २०७४ सालमा स्याट पास गरेकाहरू मिसनमा जानबाट वञ्चित भएका हुन् । युएन शाखाले ४ वर्षअघि स्याटको परीक्षा पास भएकाहरू पनि फेरी परीक्षामा सामेल हुनुपर्ने निर्णय गरेपछि पास भएर बसेकाहरू असन्तुष्ट बनेका छन् । 

प्रतिक्रिया दिनुहोस