आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा

रासस

बुधबार, २० साउन २०७८, १२ : ०९
आयोग खारेजीले एक हजार सुकुम्बासी अन्योलमा

धादिङ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को  हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने  काम अलपत्र परेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५  सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच गरेको थियो । सुकुम्बासीहरूले ४५ दिनभित्र जग्गाको लालपुर्जा पाउने भएकामा  उक्त निर्णयले काम रोकिएको आयोगका जिल्लासदस्य सञ्जय दुवाडीले बताए । सिद्धलेक गाउँपालिकाले ३५ भूमिहीनको तथ्याङ्क तयार गरेर जग्गा नाप्नका लागि अभिलेख तयार पारेको थियो । 

नीलकण्ठ, खनियाबास, रुबीभ्यालीबाहेक अन्यपालिकाहरुमा पनि जग्गा नापेर भूमिहीनलाई लालपुर्जा वितरणको तयारी भइरहेको थियो वि.सं २०७७ माघ २८ गतेदेखि आयोगले जिल्ला समन्वय समितिमा कार्यालय राखेर एक हजार भूमिहीन र १५ हजारभन्दा बढी अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न प्राप्त निवेदनका आधारमा स्थानीय सरकारसँग छलफल गरेर काम गरिरहेको थियो । 

प्रतिक्रिया दिनुहोस