कार्यदलको बैठकमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १४ : ३९
कार्यदलको बैठकमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो  ।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइनेछ । 

कार्यदलका सदस्यबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । त्यहाँ जुटेको सहमतिको ड्राफ्ट जसपा नेता राजेन्द्र श्रेष्ठले गरिरहेको बताइएको छ ।

उनले भने, ‘कसलाई मन्त्री बनाउने, कसलाई नियुक्ति दिने भन्ने विषयमा हामी प्रवेश नै गर्दैनौँ । मन्त्री को हुने र नहुने हाम्रो चासोको विषय होइन । त्यो प्रधानमन्त्री र शीर्ष नेताहरुले टुंग्याउने विषय हो । नियुक्तिको विषयमा पनि कसको नियुक्ति खारेज गर्ने कसलाई नियुक्त गर्ने हाम्रो विषय होइन ।’

यद्यपि अघिल्लो सरकारले गरेका नियुक्ति कानूनसम्मत ठीक थिए की थिएनन् भनेर सरकारलाई सुझाव भने दिइने उनले बताए । यस्तै न्युनतम कार्यक्रम तयार पारेर दलहरूका बीचमा सद्भाव र एकता कायम राख्ने विषयमा छलफल केन्द्रित रहेको लेखकको भनाइ छ ।

उनले भने, ‘राजनीतिक दलहरूका बीचको गठबन्धनलाई कसरी सुव्यवस्थित र सुदृढ पार्ने भन्ने विषयमा कार्यदलले काम गरिरहेको छ । न्यूनतम कार्यक्रम तयार पारेर दलहरूका बीचमा आपसी सद्भाव, एकता र संवादका लागि हामी छलफलमा छौं ।’

ड्राफ्टमा संघीयता कार्यान्वयन, राष्ट्रिय स्वाधिनता, विगतको सरकार असंवैधानिक नियुक्त सच्याउने विषय पनि समावेश गरिएको छ । कार्यदलले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने गरी समेत मस्यौदा तयार पारेको छ ।

लेखले भने, ‘संविधान संशोधनबारे हाम्रो बीचमा समान धारणा बनाएर संसदमा टेबुल गरेकै हो । एमालेले नमानेर संविधान संशोधन हुन सकेन । त्यसमा अहिले पनि हामीबीच साझा धारणा छ । संविधान संशोधन हुन सक्छ भन्नेमा हामी एकमत छौं । त्यही अनुसारको धारणा बन्छ नै ।’अबको दुई तीन दिनमै यसलाई अन्तिम रुप दिएर सरकारलाई बुझाइने छ । तीन वटा डकुमेन्ट भएकाले समय लाग्ने कार्यदलका सदस्यहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस