दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

रासस

शुक्रबार, १५ साउन २०७८, १४ : ०६
दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ ।  

भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । 

शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । “दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गर्नुभयो, सहानुभूति देखाउनुभयो, हामी उहाँहरुप्रति आभारी छौँ”, धन्यवाद दिन चाहन्छौँ, उनले भने ।

विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उनले जानकारी दिए । “आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ”, विदेश राज्यमन्त्री मुरलीधरणले भने । 
 

प्रतिक्रिया दिनुहोस