नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ । दुर्लभ र सङ्कटापन्न अवस्थाका जनावरलाई संरक्षण गर्ने उद्देश्यले विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । निकुञ्ज स्थापनासँगै त्यहाँका वन्यजन्तुको संरक्षणमा समुदायले पनि चासो दिन थालेका छन् । समुदायका केही व्यक्तिले निरन्तररूपमा वन र वन्यजन्तु संरक्षणको काममा आफूलाई समर्पित गरेका छन् ।
पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को कामसँगै संरक्षणका हरेक क्षेत्रमा अग्रसर रहँदै आएको नाम हो मनिष लिम्बू । चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती क्षेत्रका बासिन्दा लिम्बू पछिल्लो समय अजिङ्गर तथा अन्य सर्पहरुको उद्धारका साथै चराचुरुङ्गीको संरक्षणमा लागिरहेका छन । मुख्य पेशा पर्यटकलाई निकुञ्ज तथा मध्यवर्तीको वनमा घुमाउने भए पनि कोरोना भाइरसका कारण सिर्जित समस्याले उनको यो पेशा ठप्पजस्तै भएको छ । “पाहुना नभएपछि मुख्य काम हुँदैन, व्यक्तिगत रूपबाटै भए पनि संरक्षणको काम गरिरहेको छु”, लिम्बूले भने, “यो निषेधाज्ञाको समयमा अजिङ्गर तथा अन्य विषालु र मन्द विषालु सर्पहरुको उद्धार, पशुपक्षीको पिँजडामुक्त अभियान, चराचुरुङ्गी संरक्षण अभियानमा आफूलाई व्यस्त राखेको छु ।” उनले विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर २७ र २८ मा पिँजडामुक्त अभियान सञ्चालन गरेका थिए ।
चराहरुको संरक्षणका लागि मेघौली क्षेत्रका पसलबाट ५३० वटा गुलेलीहरु किनेर नष्ट गरेको लिम्बूले बताए । आफ्नो यो अभियानमा गाउँका साथीहरुको समेत सहयोग मिलेको लिम्बू बताउछन । ‘गो हर्न नेचरगाइड सर्भिस’ मार्फत नै उनले अहिले बर्खाको समय भएकाले सर्प संरक्षणको काम गर्दै आएका छन् । “चिनेका मान्छेहरुले आफ्नो घर, गोठमा सर्प पस्यो भनेर फोन गर्छन्”, लिम्बूले भने, “फोन आएपछि तत्काल गएर सर्प उद्धार गर्ने गरेको छु ।” यस वर्षमात्रै नौवटा अजिङ्गर तथा अन्य पाँचवटा मन्द विषालु प्रजातिका सर्पको उद्धार गरी चितवन निकुञ्जमा लगेर छाडेको लिम्बूले बताए । यस वर्ष आफूले हाइलिभेनम्स कडा विषालु सर्प कोब्रा र करेट नभेटेको बताए ।
“गाउँमा आएको अजिङ्गरले कुखुरा र हाँस खाने गर्छ, अनि गाउँलेहरुले डराएर फोन गर्छन्”, लिम्बूले भने, “सर्पहरु मार्नु हुँदैन प्रकृतिका लागि यिनीहरुको आवश्यकता अपरिहार्य छ भनेर समुदायलाई बुझाउन पनि सर्प उद्धारमा खटिएको हो ।” नेचर गाइडसँगै संरक्षणको काम शुरु गरेको २० वर्ष भइसकेको लिम्बू बताउछन । “चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्टमा म हुर्किएको हो, बाबासहित परिवारका सदस्य त्यहाँ कर्मचारी हुन” लिम्बूले भने, “वाइल्डलाइफमा सबैले काम गर्ने गरेको तथा जङ्गलमा हुर्किएका कारण संरक्षणमा मेरो पनि रुचि बढेको हो ।”
संरक्षणको काम गर्दागर्दैको अवस्थामा लिम्बूलाई सन् २०१४ मा गैँडाले आक्रमण गरेको थियो । गैँडाले आक्रमण गरेपछि उहाँ छ महिना ‘बेड रेस्ट’मा बस्नुपरेको थियो । “संरक्षणको पाटोमा यो मेरा लागि अविस्मरणीय क्षण बन्न पुगेको छ”, लिम्बूले भने, “निकुञ्जभित्र विदेशी पर्यटक लिएर पदयात्रामा गएका थियौँ, एक्कासि गैँडाले आक्रमण ग¥यो, आफू घाइते भएर भए पनि पाहुनालाई सकुशल राख्न सफल भएँ ।” निको भएर पुनः पर्यटकका पथप्रदर्शक भएर निकुञ्ज प्रवेश गर्दा दुई÷तीन महिनासम्म गैँडाको डर लाग्ने गरेको भए पनि पछि विस्तारै डर हराएको उनले बताए ।
निकुञ्ज घुम्न जाने क्रममा बाघ देख्दा सबैभन्दा खुशी लागेको उनले बताए । “हिँड्दै गरेको बेलामा बाघसँग जम्काभेट हुने घटना भनेको बिरलै हुने गर्दछ”, लिम्बूले भने, “बाघ लजालु प्राणी हो, मानिसको गन्ध थाहा पाए पनि बाघ लुक्छ, यसलाई हेर्नका लागि लामो समयसम्म कुरेर बस्नुपर्छ ।” बाघ विचरण गर्ने बेलामा छेउछाउमा रहेका चराचुङ्गी कराउँदै उड्ने, हरिण मृग दगुर्ने दृश्य निकै रोमाञ्चकारी हुने गरेको उनको भनाइ छ । “बाघ नै हेर्छु भन्ने हो भने तीन दिनसम्म पर्खनुपर्छ, बाघको आफ्नो क्षेत्र हुन्छ त्यही बाटो भएर उ विचरण गर्छ”, लिम्बूले भने, “एउटै ठाउँबाट बिहान, बेलुका पानी खान निस्कने गर्छ । मानिस हिँडेपछि मानिसको शरीरबाट निस्कने गन्धले बाघ लुक्छ । तर, कुरेर बस्यो भने बाघ देख्न सकिन्छ ।” उनले आगामी दिनमा पनि संरक्षणको काममा आफूलाई निरन्तर अगाडि बढाउने बताउनुभयो । लिम्बू मेघौली घटगाईँ गाइड एशोसिएशनको संयोजकसमेत छन ।
सरस्वती सेढाईँ जो आफू महिला भएर पनि आफूलाई संरक्षणको क्षेत्रमा स्थापित गरीन् । नियमित घरधन्दासँगै सेढाईँ संरक्षणको क्षेत्रमा समेत अगाडि बढिन् । सेढाईँले सन् २०१७ देखि २०१९ सम्म बर्ड एजुकेशन सोसाइटीको अध्यक्ष भएर चराचुरुङ्गी र संरक्षणको क्षेत्रमा काम गरेकी थिईन । समाजमा संरक्षण शिक्षा प्रदान गर्ने, चरा संरक्षणका लागि विभिन्न योजना तथा कामसमेत गरेको सेढाईँले बताईन । नेपालमा पाइने चराको करिब ७० प्रतिशत प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइने भएकाले चरा संरक्षणका लागि आफूलाई अग्रसर गराएको सेढाईँको भनाइ छ ।
नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये निकुञ्जमा ३३४ प्रजातिका चरा भेटिएका छन् । पछिल्ला दिनमा यो सङ्ख्या वृद्धि हँदै गइरहेको छ । नेपालका ३७ प्रजातिका लोपोन्मुख चरामध्ये २४ प्रजातिका चरा यहाँ पाइने हुँदा पनि यिनीहरुको संरक्षण अहिलेको आवश्यकता भएको सेढाईँ बताउछन । निकुञ्जमा पाइने चरामध्ये अति दुर्लभ चरामा खरमजुर, रागधनेश, डङ्गुरगिद्ध छन् । यस क्षेत्र चराको बासस्थान मात्र नभई बसाइँसराइको गन्तव्य पनि हो । गर्मीयाममा यहाँ ४७ प्रजातिका चरा बसाइँसराइ सरी आइपुग्छन् भने जाडोयाममा १४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् । निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय भएको सेढाईँले बताईन् । नेपालको हिमाली क्षेत्रका साथै साइबेरिया, बर्मा, तिब्बतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चरा यहाँ आउने सेढाईँ बताउछिन् ।
पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैया सुक्नु, नदी प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्याले चराको आगमन तथा वृद्घिमा ह्रास आएको उनको भनाइ छ । निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानूनको फाइदा उठाउँदै चराको शिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व विस्तारै सङ्कटमा पर्दै गएको उनी बताउछन् । आफ्नो कार्यकालमा सेढाईँले चराको सर्भेक्षण गर्ने, विद्यालयमा चरा संरक्षणसम्बन्धी प्रशिक्षण, विषादीरहित कृषि उपजमा जोड दिँदै कृषकलाई तालिमलगायतका विषयमा काम गरेको उनले बताईन् ।
–––
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ साउन २०७८, ११ : ४७
लेखकबाट थप