प्रधानमन्त्री देउवाले किन बिस्तार गर्न सकेका छैनन् मन्त्रिमण्डल ?

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, ०९ : १९
प्रधानमन्त्री देउवाले किन बिस्तार गर्न सकेका छैनन् मन्त्रिमण्डल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारमा अझै दुई तिन दिन समय खर्चिेने भएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्र र कांग्रेसका बीचमा सरकारमा सहभागीताको विषयमा करिब सहमति जुटेपनि गठबन्धनमै रहेको माधव नेपाल समुहको सरकारको सहभागिता र जनता समाजवादी पार्टीको मन्त्रालय संख्याको भागवन्डामा टुंगो नलाग्दा सरकार गठनमा अझै पनि विलम्व हुने भएको छ ।

देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसयता उनले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री बनाएर सोही दिन क्याविनेट ५ सदस्यीय बनाएका थिए । त्यसयता उनले विवादास्पद पृष्ठभूमिका र स्वार्थ बाँझिने खालका स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्ने बाहेक अन्य मन्त्रालयमा मन्त्री विस्तार गर्ने काम गरेका छैनन् ।

देउवा र प्रचण्ड दुवैले सकभर एमालेकै वरिष्ठ नेता माधव नेपाल समुहलाई सरकारमा ल्याउन अनेक प्रयास गरिरहेका छन् । देउवालाई संसदमा विश्वासको मत दिएका एमालेका २२ सांसदहरु सरकारमा जानुपर्ने पक्षमा छन् । एमालेको नेपाल समुहका दोस्रो तहका नेताहरु भने सरकारमा जान नहुने र अब सत्ता गठबन्धनबाट बाहिरिनु पर्ने बताईरहेका छन् । तर माधव नेपाल सत्ता गठबन्धनबाट बाहिरिने तिर छैनन् । उनी सरकारमा सहभागि हुने नहुने भन्नेमा निर्णय लिन नसकेपनि सत्ता गठबन्धनबाट नबाहिरिने र अन्य राजनीतिक नियुक्तिहरुमा भने आफनो पक्षकालाई व्यवस्थापन गर्दै जाने रणनीतिमा छन् । तर उनको समुहका नेतालाई सकभर सरकारमै ल्याउने तयारीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखिएका छन् ।

प्रचण्डले बिहिबार मात्रै पनि वरिष्ठ नेता माधव नेपाललाई भेट गरेर सरकारमा आउन आग्रह गरेका थिए । अब मन्त्रीमण्डल बिस्तारमा ढिलाई भईसकेको र सरकारमा आउने नआउने विषयमा शुक्रबार सम्ममा एउटा निर्णय दिन नेपाललाई प्रचण्डले आग्रह गरेका छन् । सकभर सरकारमा आउनु राम्रो हुन्छ, आउनुहोस्, नेपाललाई प्रचण्डले भनेका छन्, होइन, आउने नआउने अझै विचारमै हो भने शुक्रबार सम्म निर्णय दिनुहोला, मन्त्रीमण्डल ढिलाईले राम्रो सन्देश जादैन् । मन्त्रीमण्डल बिस्तार गर्न ढिलाई भईसकेको छ ।

नेपालसँग आज पनि प्रचण्ड र प्रधानमन्त्री देउवाले सकभर सामुहिक नभएपनि छुटाछुट्टै भेट गर्ने र सरकारमा सहभागि हुन नै आग्रह गर्ने तयारी गरेका छन् । नेपाल समुहले दिने निर्णयका आधारमा अब प्रधानमन्त्री मन्त्रीमण्डल विस्तार तिर केन्द्रीत हुने तयारीमा छन् । नेपाल समुह सरकारमा आए त्यही अनुसार ६ वटा सम्म मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखिएका छन् । तर नेपाल समुह सरकारमा नआए प्रधानमन्त्रीसहित ९ मन्त्रालय काँग्रेसले आफुसँग राख्न चाहेको छ । माओवादी केन्द्रलाई ७ र जनता समाजवादीलाई ६ मन्त्रालय दिने तयारीमा देउवा देखिएका छन् ।

।  तर जसपाभित्र पनि मन्त्रीका आकाक्षी धेरै भएपछि ब्यवस्थापनमै समस्या देखिएको छ । आफ्ना नेताहरुको ब्यवस्थापनका लागि केही मन्त्रालयमा भागवन्डा मिलाउनु पर्ने उसको प्रस्ताव छ । जसपाले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिईएको छ । तर ति तिन नेतालाई भागवन्डा मिलाउन सकस परेको छ । आज नेपाल समुह सरकारमा आउने नआउने निक्र्यौल निकाल्ने, भोलि दलहरुका बीचमा मन्त्रालय भागवन्डा मिलाउने र पर्सि आइतबार सम्ममा मन्त्रीहरुको नाम दलहरुले छिनोफानो लगाएपछि आइतबार साँझसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस