गण्डकी । कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् ।
वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताका पोखरा–१६ अर्मला टारीबिसौनाका शङ्कर गुरुङले यतिखेर निजी जग्गामा टिमुर, अलैँची, कफी, एभोकाडो र किवीलगायतका जडीबुटी एवं फलफूल रोप्न व्यस्त छन् ।
दशवर्षे विदेशको बसाइले उनमा स्वदेशमा नै केही गर्नुपर्दछ भन्ने पाठ सिकायो नै, गरे के हुँदैन भन्ने सन्देश पनि दिन खोजेको छ । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाँडी रहेको सात रोपनी जग्गामा नगदे बालीका बिरुवा रोपेको उनको भनाइ छ ।
उनका अनुसार एक दशकदेखि बाँझिएको जग्गामा टिमुरका १५०, अलैँचीलगायत कफी, किवी, एभोकाडो, अम्बा, कागतीलगायत विभिन्न जातका एक हजारभन्दा बढी बिरुवा रोपेको बताउनुभयो । परीक्षणका रूपमा लगाइएको बिरुवाले दिने उत्पादनका आधारमा बाँकी जग्गामा पनि अन्य आयआर्जन गर्न सकिने नवीनतम प्रजातिका फलफूलका बिरुवा लगाउने सोचमा रहेको उनले बताए ।
क्यानाडाबाट स्वदेश फर्केपछि पर्यटकीयस्थल पोखराको लेकसाइडमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उनी भन्छन, “कोभिडको कारण पर्यटन व्यवसायसमेत ठप्प भएपछि गाउँ फर्केर कृषि कर्ममा लाग्न मन जागेको हो ।”
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष कतारमा बिताएर स्वदेश फर्कनुभएका अर्मलाकै अर्का युवा किरण गुरुङले आप्mनो लगभग सात रोपनी जग्गामा विभिन्न फलफूलका बिरुवा रोपेका छन । विदेशबाट फर्केसँगै पोखराको पर्यटकीयस्थल चमेरे गुफामा कोल्डस्टोर्स पसल सञ्चालन गरेका उनले तीन हजार ५०० अलैँची, १५० कफी, ६० टिमुर, २० एभोकाडो र १५ वटा कागतीका बिरुवा रोपेका हुन । हुर्केका बिभिन्न प्रजातिका रुखमा औषधीय गुण भएको मरिचका बिरुवा लगाउने तयारी गरेको उनको भनाइ छ ।
उनिहरु प्रतिनिधि पात्र हुन्, उनिहरुजस्ता यस क्षेत्रका धेरै विदेशबाट फर्केका युवालगायत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ ४० घरपरिवारले ५०० रोपनी जग्गामा कृषि वनको अवधारणा अपनाएका छन् । डिभिजन वन कार्यालयद्वारा राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत निःशुल्करूपमा आवश्यक बिरुवा र खाल्टा खन्नका लागि समेत रकम उपलब्ध गराएपछि बाँझिएको जग्गाको उपयोग गर्दै आयआर्जनका लागि विभिन्न जातका बिरुवा रोप्ने प्रेरणा उनीहरूमा जागेको हो ।
अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानअन्तर्गत हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकाडो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिणाममा राइखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, १४ : ३६
लेखकबाट थप