चार वर्षमै फेरियो मध्यपुरको मुहार

रासस

विहीबार, १४ साउन २०७८, १४ : १६
चार वर्षमै फेरियो मध्यपुरको मुहार

भक्तपुर । पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न । यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो । पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ । यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन् । पुरिएका ऐतिहासिक पोखरी, इनार र ढुङ्गेधारा धमाधम उत्खनन हुँदै परम्परागत शैलीमा पुनःनिर्माण भएका छन् । 

फोहर फाल्ने डम्पिङ साइट आकर्षक उद्यानमा परिणत भएका छन् । पन्ध्रदेखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेका मुर्छित जात्रा, पर्वहरु ब्युँतिएका छन् । यहाँका मूर्त–अमूर्त कला, संस्कृति, जात्रा, पर्व नयाँ पहिचान तर पुरानै स्वरुपमा फर्किएर आन्तरिक पर्यटकको चाप बढेपछि अचेल गौरबले हाँस्न थालेको छ मध्यपुरथिमि ।

जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ मध्यपुरथिमिमा अहिले । वर्षौँदेखि स्वरुप परिवर्तन हुन नसकेको यस नगरपालिकामा स्थानीय तहको निर्वाचनसँगै निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठको इच्छा, काम गर्ने लगनशीलता र अहोरात्र खटाइले मध्यपुरथिमि नगरपालिकाको मुहार फेरिएको बताउँछन् स्थानीयवासी । नगरप्रमुख श्रेष्ठको योजना र कार्यशैलीमा अन्य जनप्रतिनिधि एवं स्थानीय जनताले साथ दिएपछि आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा नगरपालिकाले नयाँ पहिचान पाउन सफल भएको छ । 

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै नेपालको एक मात्र मध्यपुरथिमि नगरपालिका ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार दिएपछि यो नगरपालिका नेपाल बाहिर पनि चर्चामा आएको नगरप्रमुख श्रेष्ठ बताउछन।

के भयो चार वर्षमा ? 

अरनिको राजमार्गसँगै टाँस्सिएको मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर साख्वाः चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टिको फोहर फाल्ने भिरालो जमिन यतिखेर सुन्दर ‘शङ्खधर पार्क’मा परिणत भएको छ । दुईवर्ष अघिसम्म नाक, मुख थुनेर हिँड्नुपर्ने यो ठाउँ अहिले मर्निङवर्क गर्ने र थकाइ मार्न सुस्ताउने थलो बनेको छ । शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने ठाडो उकालो ढलान भएको छ । तेत्तीस रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा हरियो दुबो, कलात्मक ढुङ्गाका सिँढी, झरना, ह्याङ्गिङ गार्डेन, लहलहाउँदो विभिन्न जातका बिरुवा, डाँची अप्पा, चुना सुर्कीको प्रयोग गरेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटर बनेको छ । 

नगरप्रमुख श्रेष्ठका अनुसार रक क्लाइम्बिङ, ठूलो शङ्ख र शङ्खधर साँख्वाःको शालिक राख्ने तयारी गरिँदैछ भने परम्परागत पाटी र सूचना केन्द्र निर्माणको काम शुरु भएको छ । काठमाडौं महानगरपालिकाको नगर साझेदारी कार्यक्रमबाट आएको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको थप लगानीसहित रु छ करोड ५० लाख बजेट खर्चिएको छ । उता थिमिकै बोडेस्थित कुमारी उद्यान अहिले उपत्यकाका बासिन्दाका लागि आकर्षण बनेको छ । फोहर फाल्ने भिरालो जमिनलाई नगरपालिकाले आकर्षक उद्यान, ढुङ्गेधारा, पोखरीको पुनःनिर्माण मात्रै गरेन, जीर्ण बनेको कुमारी मन्दिर संरक्षण र भत्किनै लागेको फल्चाको पुनःनिर्माणले पर्यटकलाई आकर्षित पार्न सफल भएको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले बोडेमै भैरव उद्यान, वडा नं ४ मा यमा उद्यान, विष्णु कुण्डल उद्यान, नगदेशको सुचुत्वास्थित गयर दोफो उद्यान निर्माण सम्पन्न गरेको छ भने चोडेको निलवर्ण उद्यान, कमेरोटारको तसोताः उद्यान, आलाचको उद्यान, सिद्धिकालीको कुटिंगडाँडामा सञ्जिवनी उद्यान र लोकन्थलीमा बाल उद्यान निर्माण धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस