बागलुङ । युद्धपछि उठेको थलो हो, ताराखोला । यससँग सङ्घर्षको आफ्नै कथा छ । प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन । अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ । आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबैभन्दा बढी यसैले नै झेल्यो । मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे । कोही बेपत्ता छन् । कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ ।
परिवर्तित व्यवस्थाको जगलाई बलियो पार्दै जनतालाई विकास र सुशासनको अनुभूति दिलाउन तल्लीन छ । मुलुकमा तीन तहको शासकीय प्रणाली लागू भएसँगै ताराखोला स्थानीय सरकारका रूपमा गाउँपालिकामा बदलियो । यसलाई त्यसबेला ‘गाउँको सिंहदरबार’समेत भनेर नारा दिइयो । त्यो भनेको सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने भन्ने नै थियो ।
‘गाउँको सिंहदरबार’का रूपमा ताराखोलाले निर्वाह गरेको भूमिकाको समयक्रममा लेखाजोखा त हुँदै जाला तर पनि स्रोतको सीमितता, दक्ष मानव संशाधनको अभाव, भौगोलिक कठिनाइ र नागरिक सशक्तीकरणको कमीका बाबजुद पनि पूर्वाधार विकास तथा नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोलाई स्वीकार्न कठिन छैन ।
स्थानीय तह बनेर जनप्रतिनिधि आएको भर्खर चार वर्ष बितेको छ । शुरुका दुई वर्ष त स्थानीय तहले प्रभावकारी ढङ्गले कामै गर्न सकेनन् । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनु चुनौतीपूर्ण त छँदै थियो त्यहीँमाथि लामो समयसम्म कमर्चारी नपाउने, अधिकारको प्रत्यायोजन नहुने समस्या स्थानीय तहले व्यहोरे ।
ऐन, कानूनहरुको प्रबन्ध पनि ढिलो गरी भयो । त्यस किसिमको स्थितिबीच पनि स्थानीय तहले जनताको विकासप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न पछि परेनन् । आ–आफ्नो विशिष्ट परिस्थिति, विशेषता र शैलीअनुरुप जनताको सेवामा लागिरहे । ताराखोला पनि तिनैमध्येको एक हो जसले जनतालाई प्रत्यक्ष अनुभूति हुने तहमा ओर्लेर कर्तव्य निर्वाह गरिरहेको छ ।
पूर्वाधारमा फड्को
‘समृद्ध ताराखोला’को लक्ष्यसहित गाउँपालिकाले दुई वर्षअघि प्रथम पञ्चवर्षीय योजना तयार पा¥यो । विज्ञ, परामर्शदातालगायतको सहयोगमा बनेको उक्त आवधिक योजनाअनुसार विकास गतिविधि सञ्चालित छन् । पाँच वर्षका लागि योजनावद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोलाको सपना र भविष्यसँग जोडिएको पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ ।
आवधिक योजनाले तोकेबमोजिम नै विकास योजनाले गति लिएका छन् । समृद्धि हासिल गर्ने पहिलो खुड्किलोका रूपमा पूर्वाधार र संरचना निर्माणलाई ताराखोलाले पनि ग्रहण गरेको छ । सोहीअनुरुप पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित छ । सडक, विद्युत्, खानेपानी, सिँचाइसहित शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गरी बजेट र कार्यक्रममा प्राथमिकता दिइएको छ । मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका उत्तिकै अग्रसर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, १३ : २७
लेखकबाट थप