‘हिंसा हुन नदिन सरकार गम्भीर छ’

रासस

बुधबार, १३ साउन २०७८, २० : २७
‘हिंसा हुन नदिन सरकार गम्भीर छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताउनुभएको हो ।

“सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो । 

सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ ।