वालिङ । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन यहाँका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल टेलिकम र एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो ।
“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने स्थिति रहेन”, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले भने, “सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षक सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएका हौं ।”
नगरभित्रका १४ वडाका ७२ सामुदायिक विद्यालयका ४५० शिक्षकसहित सात हजार ५०० विद्यार्थीलाई उनीहरुको ठाउँमा जुनजुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराइएको शाखा प्रमुख सापकोटाले बताए ।
सामुदायिकतर्फ ५६ आधारभूत विद्यालय र १६ माध्यमिक विद्यालय रहेको नगरपालिकाभित्र पाँच हजार नेपाल टेलिकमका सिमकार्ड र दुई हजार ५०० एनसेलका सिमकार्ड निःशुल्क वितरण गरिएको हो ।
नेपाल टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि रु ३२१ र एनसेलको सिमकार्डमा रु ३१० ले एक महिनासम्म इन्टरनेट चलाउन सकिने छ । त्यसपछि शिक्षक÷विद्यार्थी आफैले रिचार्ज गर्नुपर्ने छ । “वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो”, सापकोटाले भने, “सबै विद्यार्थी तथा शिक्षकको हात–हातमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएका छौं ।”
नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई आइसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्नेगरी अनलाइनसम्बन्धी ज्ञान दिइसकिएको सूचना प्रविधि शाखाका प्रमुख इञ्जिनीयर प्रकाश अर्यालले बताए । सोह« माध्यमिक विद्यालयमा कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ भने इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी इन्टरनेटको सेवा विस्तार गरिएको उनले बताए ।
कोभिड– १९ को महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित, प्रभावकारी र उपयोगी बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउछन । इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आइरहँदा यसको समाधानका लागि इन्टरनेट प्याकेजसहितका सिमकार्ड वितरण गरिएको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ साउन २०७८, १२ : ४५
लेखकबाट थप