काठमाडौं । हेफर इन्टरनेशनल नेपालले लुम्बिनी प्रदेशका १२ सहित विभिन्न जिल्लाका महिला सहकारीलाई ढुवानीका साधन हस्तान्तरण गरेको छ । आज बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहकारीका प्रतिनिधिलाई ढुवानी साधनको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले महिला सहकारीमा गरिएको लगानी खेर नजाने बताए । धैर्यता बढी हुने भएकाले पशुपालनमा महिला सफल भएको उनको भनाइ थियो । “पशुपालनमा धैर्यता चाहिन्छ । दैनिक श्रम गर्ने कुरामा पुरुषले कम रुची राख्छन् । त्यसैले पशुपालनमा महिला बढी सफल देखिन्छन्”, मुख्यमन्त्री पोखरेलले भने।
कृषि सामग्री ढुवानीका लागि प्राप्त सवारीलाई आवश्यक काममा मात्रै प्रयोग गरी लाभ लिन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले ढुवानीका साधनले कृषकलाई बजारीकरणमा सहज हुने विश्वास व्यक्त गरे । कृषिमा युवालाई आकर्षित गर्न आधुनिकीकरण र व्यवसायिकरण जरुरी रहेको बताउँदै उनले त्यसका लागि सहकारीले उत्पापदनमा सहजीकरण र बजारीकरणको नेतृत्व गर्नुपर्ने उल्लेख गरे । “कृषि प्रधान देश त भन्छौँ तर कृषिको तुलनामा श्रम निर्यात गर्ने मुलुकका रुपमा विकसीत हुँदैछ। जसले नेपालको उत्पादकत्व विकास गर्ने योजनामा असर गरेको छ”, उनले भने ।
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले प्रदेश दूध र मासुुमा आत्मनिर्भर हुन लागेको जनाउँदै उत्पादनमा आत्मनिर्भर बनाउन सरकार प्रयत्नशील रहेको बताए। पूर्वमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन यसअघि कृषि मन्त्रालयले ल्याएका अनुदानका कार्यक्रमले सकारात्मक प्रभाव पारेको जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेशका कृषि उत्पादनलाई एकीकृत र बजारीकरण गर्न भौतिक संरचना निर्माणको काम भइरहेको बताए । हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले कृषि उत्पादनको बजारीकरणका लागि ढुवानीको समस्या नहोस् भनेर ढुवानीका साधन सहयोग गरिएको बताउँदै यसले उत्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हेफरले विभिन्न जिल्लाका २८ वटा कृषि सहकारीलाई कृषि ढुवानीको साधन हस्तान्तरण गरेको हो । कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउने उद्देश्यले लुम्बिनी प्रदेशका दाङ, पाल्पा, अर्घाखाँची, बाँके, गुल्मी र बर्दियाका १२ सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
त्यस्तै प्रदेश १ मा एक, प्रदेश २ मा पाँच, वाग्मती प्रदेशका छ र गण्डकी प्रदेशका चार सहकारीले कृषि ढुवानी साधन बोलेरो जीप प्राप्त गरेका हुन् । हेफर इन्टरनेशनलले साना किसानहरूको दिगो विकासमा सहयोग गर्ने गरी उपलब्ध गराएको ढुवानी साधनबाट २० हजार ७५१ बढी कृषकले प्रत्यक्ष लाभ लिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ साउन २०७८, १८ : ४५
लेखकबाट थप