डीपीएल–२ को उपाधि टिम चौराहा धनगढीलाई

शुक्रबार, ३० चैत्र २०७४, १७ : ४५
डीपीएल–२ को उपाधि टिम चौराहा धनगढीलाई

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।
टिम चौराहा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० बनायो । काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएपनि टिमलाई जिताउन सकेन । ३८ बल खेलेका अमित श्रेष्ठले ३ छक्का र ७ चौका प्रहार गरे । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । २७ बल खेलेका मल्लले २ छक्का र १ चौका प्रहार गरे ।

पुष्प थापा १५ रनमा शम्साद शेखको बलमा बोल्ड आउट भए । अमित र पुष्पले दोस्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । त्यसपछि ब्याटिङमा आएका मल्ल र नरेश बुढाऐरले चौथो विकेटको लागि ३६ रनको साझेदारी गर्दै टिमको इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए । नरेश बुढाऐर १९ रनमा क्याच आउट भए । सन्नी पटेल २२ रनमा बनाए । रसिद खान २ रनमा आउट भए । भुपेन्द्र थापा शुन्य रनमा आउट भए । सन्तोष भट्ट र ललित नारायण राजवंशीले ओपनर ब्याट्सम्यान सुवोध भाटी ५ रनमा आउट भए ।

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । उत्कृष्ट बलिङ गरेका ललितले ४ ओभरमा २२ रन खर्चे । रोहन मुस्ताफाले २ तथा शम्साद शेख र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल र रोहनले सम्हालेका थिए ।

सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । सोनु तामाङ शुन्य रनमा आउट भए । राजेश पुलामी शुनय रनमा क्रिजमा रहे । काठमाडौंका सुवोध भाटीले दुई विकेट लिए । सन्नी पटेलले १ विकेट लिए ।

च्याम्पियन बनेको घरेलु टोली टिम चौराहा धनगढीले २५ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैया प्राप्त गर्यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सिवाइसी अत्तरियाले २ लाख रुपैया प्राप्त गरे ।  चैत १७ गतेबाट शुरु भएको राउन्ड रोविन लिगको आधारमा भैरहेको प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस