‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

रासस

मंगलबार, ०५ साउन २०७८, १५ : १६
‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगरमा परिणत गरिदिएपछि उनको परिवार सुुकुम्बासी बनेको छ ।  

“दिनभरि मेलापात गरी साँझ घर फर्केर खाना तयार गर्दै थिएँ, एक्कासि बम पड्किएजस्तो ठूलो आवाजसँगै मेलम्ची उर्लियो । वरपरको जमीन हल्लिँदा भूकम्प गएजस्तो लाग्यो । हत्तपत्त श्रीमान्लाई  नागरिकता र जग्गाधनी पुर्जा ढाडमा बाँधेर दौडिन भनेँ । हामी भागेर माथि डाँडामा पुग्दानपुग्दै मेलम्चीले उग्ररुप लिइसकेको थियो । हेर्दाहेर्दै हाम्रो बस्ती बगरमा परिणत भयो”, उक्त दिनको घटना सुनाउँदै उनले भनिन्, “घरभित्रका कुनै सामान निकाल्न सकिएन, गोठमा बाँधेको भैँसी पनि बगायो ।”

असारे धान काट्ने र नयाँ धान रोप्ने तयारीमा रहेका यहाँका बासिन्दा भएको जमीन पनि बाढीले सखाप पारिदिएपछि भोकमरीमा पर्ने चिन्तामा छन् । गणेशबगरका घरबारविहीन बनेका १६ परिवारलाई गाउँपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा माथि डाँडामा पालमा राखिएको छ । घरमा खासै क्षति नपुगेको भए पनि सम्भावित क्षतिको त्रासका कारण अन्य २४ परिवार पनि अझै सोही स्थानमा पालमै बस्दै आएका छन् । 

एकातिर भएको चलअचल सम्पत्ति गुमाउनु पर्दा र अर्कातिर पालमा अर्काले दिएको राहतले छाक टारेर दिन काट्नुपर्दाको पीडा त छँदैछ, त्यसमा पनि यतिबेला पालमा बसेका अधिकांशमा ज्वरो आउने, रुघाखोकीको समस्याले गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि उत्तिकै रहेको स्थानीय बाढी पीडितहरुको गुनासो रहेको छ । “गाउँपालिकासँग कोरोना परीक्षण गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन”, स्थानीयवासी केवाङ लामा भन्छन् । पालमा बस्दा दिउँसोको समयमा गर्मी र राति चिसो हुने गरेको, एकै ठाउँमा झण्डै डेढ सय मानिस बस्दा अन्य समस्याहरु पनि आउने गरेको उनी बताउछन् ।

घरबाट झण्डै आधा घण्टाको दूरीमा बग्ने मेलम्ची खोला अहिले आफ्नो घर भएको ठाउँबाट बगेको देख्दा उहाँ अत्यन्त दुःखी हुन्छन । “अब कहाँँ बस्ने ? जग्गाको बन्दोबस्त गरे घर बनाउन सहयोग गर्ने बताउँछ गाउँपालिका । आफूसँग अर्को जमीन छैन । खोला घटेपछि पहिलेकै ठाउँमा बनाउँ भने फेरि यस्तै बाढी आउन सक्छ”, उनले भने, ‘‘हामी भूमिहीनलाई सरकारले यही गणेशबगरको पाखोमा घर बनाई दिनुपर्छ ।” आफूले केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको अवलोकन भ्रमण गर्दा पनि यही गुनासो राखेको उहाँको भनाइ छ । जिल्लाकै घ्याङफेदीमा रहेको घर २०७२ सालको भूकम्पले भत्काएपछि उनले  गणेशबगरको छेउमा रु चार लाखमा चारआना जग्गा किनेर पक्की घर बनाएका थिए ।  

प्रतिक्रिया दिनुहोस