काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।
विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताए। बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।
ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उनको दुःखेसो छ । फोन उठाउनुभएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएरपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उहाँको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुनु ।
यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु छ नै बढी भाडा तिर्नुप¥यो । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम रु २० भाडा भएको छ भन्दै बा५ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।
छोटो दूरीमा रु छ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ साउन २०७८, १७ : १५
लेखकबाट थप