'लुतो फाल्ने पर्व' उल्लासमय मनाइँदै

रासस

शुक्रबार, ०१ साउन २०७८, ०८ : ५३
'लुतो फाल्ने पर्व' उल्लासमय मनाइँदै

महोत्तरी । झरी रोकिएको छ । एक सातायता त्यसअघिको लगातारको चोटिलो वर्षा थामिएको छ । मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन् ।

खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन् ।

एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आपूmहरु लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइन बताउछन् । आफ्ना बस्तीमा नयाँ युवा पुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुशी देखिएका छन् ।

तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरिद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरुमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ कै सामाजिक, राजनीतिक कार्यकर्ता मुकुन्द दाहालको धारणा छ ।

जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरु अब सबैका साझा बनेका देखिँदा छन् । फरकफरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमचिमले पुराना राजनीतिक आग्रह र पहाडी–मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिदै जाँदा खुशी लाग्ने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक राजनीतिक कायकर्ता सुरजसिंह कुशवाहाले बताउछन् । 
जिल्लाको यो क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ ।

जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेलीलाई बोलाएर खुवाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस