मेलम्चीबासी भन्छन् , ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

रासस

विहीबार, ३१ असार २०७८, १५ : ३३
मेलम्चीबासी भन्छन् , ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

सिन्धुपाल्चोक । “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्छन, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” 

Yeti Diistillery Tansen Cement box

यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उनको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल शुरु गरेका थिए। आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा ऋण लिएर बनाएको घर क्षणभरमा नै बगर बनेपछि उनी अहिले घर न घाटको भएका छन । उनले भने , “हामीले दुःख गरेर २६ वर्षमा बनाएको घर बगाउन २६ मिनेट पनि लागेन ।”

लामाले छ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुङ्गा, इँटा, खापासमेत नदेखिने गरी उहाँको घर बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन ।  

खोला नजिकै घर भएकाले गत वर्षमा पनि उहाँ वर्षाको समय रातमा ब्याट्री लिएर खोला हेर्ने र हिमालका मान्छेसँग सम्पर्क गरेर बाढी आए नआएको बुझ्ने गर्थे । त्यो दिन पनि खोला सानो भए पनि धमिलो आएपछि उनले पहिले आफ्नो घर भएको ठाउँ पाँचपोखरी थानपालका आफन्तलाई फोन गर्ने प्रयास गरे । दुई बजेबाट फोन गर्न प्रयास गरिरहँदा अपराह्न ५ बजे सम्पर्क भएर त्यहाँको गाउँ बगेको सूचना पाए। उनले भने, “हाम्रो त यहाँ घर बगिसक्यो आफू र परिवार सुरक्षित गर्नु भनेर मलाई खबर आएपछि घर छाड्न थाल्यौँ ।”

त्यो कुराकानीको आधा घण्टामा बाढी आएको थियो । हतारहतारमा उनले परिवार र आफन्तलाई घरबाट निकाले र सटर लगाएर आफू निस्के । त्यतिबेला आफू बाँचियो भने त्यही ठूलो कुरा भनेर उनलाई घरभित्रका सामानको कत्ति पनि लोभ लागेन । आफू मात्रै बाँच्नुभन्दा पनि सबैलाई बचाउनुपर्छ भनेर बजारमा सबैतिर हल्ला गर्दै कुदेको उनले बताए । उनले भने, “हामी भाग्दै गर्दा रुख र लेदो आएको थियो ।” 

हतारमा घर छाडेर जाँदा घर र सामान केहीको मतलब नभए पनि अहिले उनी दैनिक बगरमा बदलिएको आफ्नो घर भएको जग्गामा पुग्नुछन । हरेक दिनजसो कहिले  डेक्ची, कराइलगायतका भान्साका फुटेको सामान भेटिएको लामाले बताए। उनको घरसँगै जिन्दगीभरको कमाइले जोडेका सम्पत्ति सुनचाँदी, पैसा सबै खोलाले बगाएर लगेको छ । जिजुबाजेका पालाको चिया खाने भाडा बगेर गयो । बन्दाबन्दी खुल्ने आशाले उनले चार पाँच लाख जतिको चाँदीको सामान र दुई लाखको समान थपेका थिए ।

रासन त्यस्तै पाँच छ लाखको थपेको बताए । “अहिले जीउमा लगाएको लुगा र कुरा गर्दै भागेकाले एउटा सानो मोबाइल मात्रै बाँकी छ ।”अपरान्ह ५।३० भागेर बजार नजिकै चोकमा गएर बसेका उनी त्यहाँ पनि खोला आउँछ भनेपछि इन्द्रेश्वरी मावि पुगे । रातभर जागै बसेर आफ्नो घरतिर हेर्दै थिए  । रातिसम्म घरमा बाढी नै आए पनि उहाँलाई सबै लग्यो जस्तो लागेको थियो । उनले भने, “बिहान उठेर हेर्दा केही बाँकी रहेन, अहिले घर र केही बाँकी छैन भन्ने कुरा सपनाजस्तो लाग्छ ।” 

भूकम्पमा रु ५० लाखको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रँदै थिए । त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो । अहिले निषेधाज्ञा खुलेर पुनः व्यापार अघि बढाउन लाग्दा बाढीले बास र कमाइ खाने होटल दुबै बगायो । अहिले पीडित नागरिक र व्यापारीलाई सरकारले राजनीतिक रुपमा पूर्वाग्रह नराखी सहयोग गर्नुपर्ने उनको माग छ । बैंकमा ऋण गरेर व्यवसाय गरिरहेकालाई केही समयका लागि ब्याजमा सहजीकरण गर्नुपर्ने लामाले बताए। 

उनले भने, “सरकारले केही हेरिदिए हामी चिया पसल गरेर पनि बाँचेर परिवारलाई बचाउन सक्ने थियौँ ।” मेलम्ची नगरपालिका–११ का रामेन्द्र श्रेष्ठको पनि घर र पाउरोटी कारखाना दुबै बाढीले बगायो । भूकम्पमा घर भत्किएपछि पुनः उहाँले चार वर्ष पहिले घर बनाउनुभएको थियो । उनको घर, पाउरोटी कारखाना र गाडी सबै बाढीले लग्यो । गाडी भेटिए पनि चल्ने अवस्थामा छैन । उनको  ११ जनाको परिवार अहिले भाडामा बसेको छ । उनले भने, “त्यतिबेला बाँचिए त अरु जेसुकै होस् भन्ने लागेको थियो, अहिले खान लाउने कुरा पनि चाहिने रहेछ ।”

विगतमा पनि वर्षाको समयमा खोला कहिले बढ्ने, घट्ने हुन्थ्यो । यस वर्ष खोला धमिलिएको देख्दा पनि श्रेष्ठलाई यस्तो माहामारी आउला भन्ने लागेको थिएन । खोला ठूलो आएपछि सुरक्षित ठाउँमा भाग्दा कुनै पनि सामान लैजान नसकेको बताए । केही दिनपछि भने कोट्याएर हेर्दा बिग्रिएको अवस्थामा कपडा र सामान भेटिएको थियो । आफूले लगाएको लुगा देखाउँदै भने, “भाग्दा लगाएको एक जोर मात्रै लुगा थियो यो लुगापछि भेटिएपछि धोएर लगाएको छु ।”

अहिले परिवारसहित बहालमा बस्ने गरेका श्रेष्ठले  सुत्नका लागि ओढ्ने ओच्छाउने सबै बाढीले बगाएको बताए । पुस्तौँदेखि त्यही ठाउँमा बस्दै आएका उनको  घरमा भएका बस्तु र खेतबारी पनि बाढीले बगाएको थियो । परिवारले खेतमा अर्गानिक गोलभेँडा, खोसार्नी लगाएको थियो । त्यो केही पनि बाँकी रहेन । “बाढीले नै १० वटा बाख्रा बगायो र १८ रोपनी खेत अहिले खोलामा बगिरहेको छ ।”

अहिले ६० वर्ष पुग्नुेका श्रेष्ठ आफ्ना बाबु र बाजेले पनि कहिल्यै यतिको क्षति गर्ने गरी बाढी आएको नभनेको बताए । सानो बाढी आएर सानोतिनो क्षति भए पनि सिङ्गो बस्ती नै बगाएको यो नै पहिलो पटक भएको उनले बताए । 

अहिले पनि खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्ने उनको इच्छा छ । मेलम्ची बजारलाई पूरानै स्वरुपमा फर्काउनुपर्ने उनको माग छ । उनले भने, “मेरो नातिले पनि हजुरबाको ठाउँ भनेर यहीँ बसोबास गरोस भन्ने इच्छा छ ।” 

घर पूरै बगाएर बगरमा परिणत भए पनि स्थानीयवासी दैनिकजसो नै आफ्नो जग्गामा पुग्छन् । तत्काल केही गर्न नसके पनि आफ्नो जग्गा हेरेर बसिरहेको ठाउँमा फर्कने गर्छन् । घरभित्र पहिलो, दोस्रो र तेस्रो तलासम्म खोलाको लेदो पसेका घर बजारमा धेरै छन् । नगरपालिकाले पहिलो तलासम्म बाढी पसेका घरलाई पूर्ण क्षतिग्रस्त घर मानेको छ ।