महोत्तरी । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।
“भोलिको दुःखको साथी हुने आशमा बचत ग¥यौँ भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ”, स्थानीयवासी रामकुमार श्रेष्ठले भने, “हामी ठगिएछौँ, रु दुई लाख बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौँ ।”
उनीजस्ता सयौँ बचतकर्ता अहिले आफ्नो रकम खोजी गरिदिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु विभिन्न निकायमा दौडिरहेका भेटिन्छन् । बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय हटाइएको छ । सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलक पनि अप्ठ्यारोमा परेका छन् । विसं २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुका कुमारी तामाङ बताउछिन ।
“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौँ”, उनले भने, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ ।” आफूले सङ्कलन गरेको नै करिब रु ५० लाख बचत फिर्ता दिन बाँकी रहेको उनको भनाइ छ ।
पछिल्लोपटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै नगरपालिका र सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विसं २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्कमा नआएको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।
नगरकाको सहकारी शाखा र सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरिरहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो”,सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भने, “उहाँले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नुभएन ।” सो सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्था न्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका जान बचतकर्तालाई सुझाएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३१ असार २०७८, १३ : ०८
लेखकबाट थप