विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल

पत्रपत्रिकाबाट

मंगलबार, २९ असार २०७८, ०७ : ००
विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल

काठमाडौँ ।  सर्वोच्च अदालतले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग भएका छन्।

सर्वोच्च अदालतले सोमबार जारी गरेको परमादेशपछि बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले परिस्थिति बदलिएकाले गठबन्धनबाट अलग भएको बताए।

‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैं साथ रहन्छ तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला’, बैठकमा नेपालले राखेको भनाइ उद्धृत गर्दै एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘फराकिलो ढंगले सरकार चलाउने कोसिस गर्नुस्। आधारभूत मान्यतामा रहनुस्। एकपक्षीय ढंगले चल्नुभयो भने त्यसले हित गर्दैन। लोकतन्त्र भनेको सबैको रक्षा हो, सहमति र सहकार्य हो, म यही सल्लाह दिन चाहन्छु।’

विपक्षी दलको नेतृत्वमा बन्ने सरकारमा आफूहरूको सहभागिता नहुने नेता पन्तले बताए। गठबन्धनको बैठमा उनी पनि सहभागी थिए। बैठकपछि पन्तले अहिले परिस्थिति बदलिएको र त्यही अनुसार पार्टी एकताको पहल अघि बढिसकेको सञ्चारकर्मीलाई बताएका थिए।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस