प्रधानमन्त्री ओलीको एकैसाथ तिन थरी ‘तीर’

सर्वोच्चको फैसलालाई प्रभावित पार्न रणनिति

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, ०९ : ४८
प्रधानमन्त्री ओलीको एकैसाथ तिन थरी ‘तीर’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एक साथ तीन थरी तीर चलाउन खोजेका छन् । आफ्नै पार्टी एमालेभित्रको अन्तरकलह मिलाउन चुकिरहेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटनका सन्दर्भमा दिन सक्ने फैसलालाई प्रभावित पार्न खोज्ने गरी एक साथ तीन थरी तीर चलाउन खोजेका छन् ।

यस्ता छन्, ओलीका तीन थरी तीर
१) अदालतलाई देखाउन कोभिडका बेला सरकारमै रहेको दलले नेता कार्यकर्तालाई सडकमा उतारेर आफ्नो पक्षमा जयजयकार गराउन लगाएका छन् ।

२) कार्यादलको नाममा १० वुँदे सहमति गरेर ओलीले एमालेकै माधव नेपाल समुहमा विभाजन ल्याएका छन् । अब नेपाल समुहका कतिपय नेता नेपालले लिने अडानमा सहमत नहुने र ओलीले बोलाउने हरेक बैठकमा सहभागी हुने वातावरण निर्माण गराएका छन् ।

३) अझै पनि सहमतिमा माधव नेपाल नआए केन्द्रीय समिति बैठकबाट कारवाहीमा पर्ने भनी धम्काउन मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतले सम्भवतः प्रतिनिधीसभा विघटनका सन्दर्भमा आज केही न केही निर्णय दिन सक्ने सम्भाबना रहेकोले पनि ओलीले त्यस अगाडी नै अनेक निर्णय गर्न खोजेका छन् । अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री बनाउन माग सहित एमालेकै २३ सांसद पुगेको सन्दर्भमा  ओलीले एमाले एकढिक्का रहेको र त्यसमा अव पार्टी सस्थागत निर्णयका आधारमा एकै ठाँउ रहने गरी अदालतलाई सन्देश दिन खोजेका छन् ।

तर नेपालले भने अदालतलाई प्रभावित पार्ने गरी हुने कुनै पनि निर्णय आफुलाई मन्जुरी नहुने स्पष्ट पारिसकेका छन् । तर नेपाल पक्षका २३ जनाको हस्ताक्षर अव कामयावी नभएको जस्तो प्रचारबाजीमा ओली पक्ष उत्रिसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोही आसयको सन्देश समाजिक सन्जालवाट दिएपछि नेपालले त्यसको काउन्टरमा खण्डन गरिसकेका छन् । तर ओलीका सोमबार दिनभर गरेका अनेक गतिविधि सुक्ष्म रुपमा नियाल्ने हो भने उनले एकैसाथ तीन तर्फ तीर चलाउन खोजेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रिय समितिको बैठक बोलाएका छन् । कार्यदल तहमा भएको १० वुँदे सहमतिमा अझैपनि माधव नेपालको पूर्ण सहमति छैन् । उनलाई नेपाल समुहकै नेता भीम रावलले झुक्याएर सहमति खोज्ने प्रयास गरेका छन् । अदालतको फैसला र हस्ताक्षरलाई प्रभावित पार्ने कुरा सहमतिले नगर्ने ओली पक्षबाट वचन आएको र फैसला आएपछि पार्टी कमिटि बैठक बसेर त्यसवारे आवश्यक निर्णय लिने कुरा भएपछि मात्र सहमति कार्यदलमा जुटेको भनी रावलले नेपाललाई ब्रिफिङ गरेका छन् ।

तर सहमतिको ब्याख्या गर्दा यसभन्दा फरक ढंगले प्रचारवाजी शुरु भईसकेको छ । अदालतले कतै शेरवहादुर देउवालार्इ प्रधानमन्त्री बनाउ भनेर परमादेश नै पो जारी गरिदिन्छकी भन्ने भयवाट ओलीले अदालतको फैसला समेत नकुर्दै हतारमा सहमति जुटाउन कार्यदलमा प्रयास गरेका हुन् । तर माधव नेपालले आजै आफ्नो समुहका आफुलाई भेटन निवास नै पुगेका केन्द्रीय सदस्यहरुलाई सर्वोच्चको फैसला अगाडी ओलीसँग कुनै सम्झौता नहुने बताएपछि उनलाई पनि तर्साउन ओलीले केन्द्रीय कमिटि बैठक बोलाएका हुन् । ‘प्रधानमन्त्रीले केन्द्रीय कमिटीको १४ औं बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको छ,’ एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने,–‘त्यसको सूचना केन्द्रीय सदस्यहरु सबैलाई पठाईसकिएको छ ।’

नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै सम्झौता नहुने र त्यो आफुले नगर्ने आफनो समुहको बटमलाइन नै भएको बताएका थिए । उनलाई भेटन निवास पुगेका काठमाडौंमा उपलब्ध नेपाल निकटका केन्द्रीय सदस्यले कार्यदलमा रहेका तर नेपाल समुहको माग सम्बोधन गर्ने नेताहरुले गर्ने सहमति मानेर जान नहुने सुझाव नेपालसँग राखेका थिए । ‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, उनीहरुले आफ्नो कुरा होइन समुहको कुरा कार्यदलमा गर्नुपर्छ ।

त्यसो गर्दैनन र आफुखुसी गर्न खोज्छन भने त्यो कार्यदल किन चाहियो ? नेपालसँग नेपाल समुहका नेताहरुले प्रश्न गरेका थिए । त्यसपछि भने नेपालले  आत्मसम्मान गुमाएर नेता बन्नु भन्दा सामान्य मानिस भएर बस्नु ठिक हुन्छ भन्दै आफुले एकपटक बोलेको बचनमा प्रतिवद्ध रहेको धारणा राखेका थिए । तर ओलीले कार्यदलमा १० वुँदे सहमति गराएर माधव नेपाल समुह फुटाएका छन् । यसमा सबैभन्दा बढी धोका नेपाललाई आफ्नै समुहका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेले दिएका छन् । अब नेपाल समुह यो कार्यदलको सहमति पछि विभाजित हुने पक्का जस्तै भएको छ ।

नेपाल अझै सहमतिमा सहमत नहुन सक्छन् । उनलाई र ओलीलाई कार्यदलले आज मात्रै सहमति पत्र बुझाउने तयारी गरेका छन् । तर यो सहमति पछि अब नेपाल समुहका कार्यदलमा रहेका र सहमति गरेका नेताहरु ओलीले बोलाउने बैठकमा जान सक्छन् । नेपाल ओलीले बोलाएको बैठकमा पूर्ण रुपमा प्याकेज सहमति नभएसम्म जाने देखिदैन । सोही बुझेर नै ओलीले नेपालसँगै अझै पनि रह्न चाह्ने र कठोर प्रतिक्रिया दिईरहेका नेताहरुलाई धम्काउन केन्द्रीय समितिको बैठक बोलाएर पख्र्लास है, निर्णय मानेनौं भने कारवाहीको भागिदार बन्छौं भनेर तर्साउन खोजेका छन् ।

उनले सर्वोच्चको फैसलाको भोलिपल्टै केन्द्रीय समिति बैठक बोलाउने र त्यसपछि असाधारण निर्णय लिने यस अगाडी नै चेतावनीको भाषा प्रयोग गरिसकेका थिए । उनले मंगलबारका लागि बैठक आह्रवान गर्नु, तर केन्द्रीय सदस्यहरुलाई बैठकको एजेण्डा नदिनुभित्र अझै नेपाललार्इ तर्साउन मात्र उनले एउटा तीर चलाएको देखिन्छ । अर्कोतिर ओलीले सर्वोच्च अदालतले दिने निर्णयको पूर्वसन्ध्यामै सडकमा आफ्ना कार्यकर्ता उतारेर माहोल आफ्नो पक्षमा बनाउन खोजेका छन् । ओलीले गत असार १८ को केन्द्रीय समिति बैठकमा पार्टीविरुद्ध विपक्षी गठबन्धनले घेराबन्दी गर्न खोजेको भन्दै त्यसको आवश्यक पर्दा प्रतिवादमा उत्रनुपर्ने नेताहरुलाई निर्देशन गरेका थिए । तयारी हालतमा बस्न भन्दै उनले त्यसै दिन भनेका थिए, –‘गेट सेट गो भनेरे सिठि फुक्ने वित्तिकै तपाईहरु सडक संर्घषमा प्रतिवाद गर्न उत्रनु पर्नेहुन्छ । तयारी अवस्थामा बस्नुहोला ।’

नभन्दै ओलीले आइतबार सडकमा आफ्ना कार्यकर्तालाई उतारेका छन् । सर्वोच्चले प्रतिनिधीसभा विघटनको मुद्दामा फैसला दिने अन्तिम तयारी गरिरहेका बेला उनले सडकमा आफु निकटका कार्यकर्ता उतारेका हुन् । आफ्नै जयजयकार गराउन लगाँउदै ओलीले अदालत  नजिकै वानेश्वरबाट माइतीघर सम्म सडकमा कार्यकर्ता उतारेका हुन् । यो उनले अदालततीर तीर चलाएका हुन् । प्रधानमन्त्री ओलीले कार्यदलमा रहेका नेपाल समुहका नेतालाई सकेसम्म सबैलाई अब सहमतिमा ल्याउने, नसकेपनि जति आउँछन, सहमति मा उतिलाई सहमतिमा ल्याउने गरी दिनभर कार्यदलका नाममा नेताहरुलाई छलफलमा राखेर १० वुँदे सहमति गराएका छन् । यसले अब नेपाल समुह एक रहन नसक्ने बुझाईमा ओली छन् । नेपाल समुह फटाउन ओली सफल भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस