राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १६ : २६
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक असार ३० गते बस्ने भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद पछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । करिब दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुङ्गो लागेको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएको थियो । तर, ऐन आएको वर्ष दिन बित्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।

ऐनले समेत वर्षमा कम्तिमा दुई पटक बैठक बस्ने उल्लेख गरेको छ । राजनीतिक अस्थिरतासँगै खेलकुद मन्त्री परिवर्तन भइरहँदा बोर्ड बैठक समेत प्रभावित बन्दै आएको थियो । पछिल्लो समय राखेपका बोर्ड सदस्य समेत बैठक बस्न नसकेको भन्दै राखेप नेतृत्वसँग विवादमा उत्रन थालेका थिए ।

असार ३० गते बस्ने बैठक सातदोबाटोस्थित राखेपको सभाहलमा राखिएको छ । राखेपको बोर्ड बैठक बस्न नसक्दा खेलकुदको वार्षिक क्यालेन्डर बनाउनेदेखि बजेट निर्माणदेखि पारितसम्म असर परेको छ ।

प्रतिक्रिया दिनुहोस