हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

रासस

सोमबार, १४ असार २०७८, १२ : १५
हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।

प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुगेका छन । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहनुभएका डा श्रेष्ठले बताए । 

बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे«सिङ्ग गरिएको छ । 

हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को निःशुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।  

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई डे«सिङ्ग गरिएको छ । 

अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दात्त सर्जन, प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे  फिजिसिएन, प्रहरी नायब उपरीक्षक सुवास थापा , आन्तरिक औषधी, प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर रेडियोलोजिस्ट, प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे स्त्री रोग विशेषज्ञ छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ  बाल रोग विशेषज्ञा, प्रहरी नायब उपरीक्षक शंकर थापा ,दन्त रोग विशेषज्ञ, प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ ,अर्थोपेडिक सर्जन र प्रहरी निरीक्षक डा .प्रबिना मास्के तथा डा एलिना श्रेष्ठ टोलीमा संग्लन छन । 
 

प्रतिक्रिया दिनुहोस