सीमावर्ती क्षेत्रमा प्राङ्गारिक खेती फस्टाउँदै

रासस

आइतबार, १३ असार २०७८, १४ : १०
सीमावर्ती क्षेत्रमा प्राङ्गारिक खेती फस्टाउँदै

रसुवा । टिमुरे क्षेत्रका किसानले  प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो ।   

 स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिए ।  भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उनले बताए ।  रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक रु ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ ।  कृषि फर्ममा हाल स्थानीय कुखुरा , लौकाट , च्याङग्राको बोका र स्थानीय  बोका ,चौरीगाई   , याक  र स्थानीय जातका गाई रहेका छन् । 

कृषि उपज तर्फ  ब्रोकाउली , बन्दा , काउली ,  मुला , रायो , आलु ,करू , र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि  रहेका छन् ।व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उनले जानकारी दिए । उनका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं  ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ ।

गतवर्ष मात्र सो कृषिफर्मले  आलु र चीजबाट मात्र रु २५ लाख आय गरेको बताइएको छ । उनले भने , “स्वदेशमा केही गर्न सकिन्छ । म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ । ”  शिक्षण पेशा छाडेर कृषिमा लागेका उनले सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिए । 
 

प्रतिक्रिया दिनुहोस