मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई तीन करोड विनियोजन

रासस

आइतबार, १३ असार २०७८, १३ : ३८
मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई  तीन करोड  विनियोजन

तनहुँ । पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । 

यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई आगामी वर्ष रु डेढ करोड बजेट विनियोजन गरिएको छ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाललाई गाउँपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको हो । 

वडा नं २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । नयाँ–नयाँ गन्तव्य बनाउने लक्ष्यसहित शुरु गरिएको ग्रेटवाललाई पर्यटकीय हबका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । 

गत वर्षदेखि निर्माण शुरु गरिएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौं, मिनी ग्रेटवाल निर्माणका लागि सङ्घ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ”, उनले भने। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि काम अगाडी बढाउन सहज हुने उनले बताए । उनका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । चालु आवमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । 

गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौं”, उनले भने । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताए। 

प्रतिक्रिया दिनुहोस