प्रतिनिधिसभा विघटन मुद्दाको रिट निवेदकतर्फको बहस आज सकिँदै

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, ०९ : ३०
प्रतिनिधिसभा विघटन मुद्दाको रिट निवेदकतर्फको बहस आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको रिट निवेदकतर्फको बहस आज सकिँदै छ । प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार चौंथो दिन सुनुवाई हुन लागेको हो । आइतबार रिट, निवेदक तर्फका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । 

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी छ । निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा समय पाउनेछन् ।  निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्नि सापकोटाका कानुन ब्यवसायी सहित सरकार पक्षका कानुन ब्यवसायीलाई बहसका लागी संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ । 

काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट असार १० मा बरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेर बहादुर केसी, वोर्ण बहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए । 

शुक्रवार बरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, बरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् । असार ९ मा बरिष्ठ अधिवक्ता बद्रि बहादुर कार्की, महादेव यादव, शम्भु थापा, अधिवक्ताहरू गोविन्द शर्मा बन्दी र खम्ब बहादुर खातीले बहस गरेका थिए । 

प्रतिक्रिया दिनुहोस