काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै फेरि थप्ने तयारी

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, ०९ : १९
काठमाडौं उपत्यकामा  निषेधाज्ञा खुकुलो बनाउँदै फेरि थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै फेरि थप्ने तयारी भइरहेको छ। यसअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ। कोरोना भाइरसको संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

निषेधाज्ञा लम्ब्याउनुपर्ने नै अवस्था रहेको र कति थप्ने, कसरी थप्ने भन्ने विषय भोलिसम्म टुंगो लगाउन बाँकी रहेको बताए । 
काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा एकसाथ उही स्वरूपमा निषेधाज्ञा लागू गर्ने गरिएको छ। यस विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर टुंगो लगाउने गरेका छन्।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञाको अवधि पटकपटक थपेर यही असार १३ गते (आज) राति १२ बजेसम्म पुर्‍याइएको हो भने प्रतिबन्धहरू क्रमशः खुकुलो बनाउँदै लगिएको छ।

प्रतिक्रिया दिनुहोस