‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रवृत्ति’

रासस

शनिबार, १२ असार २०७८, २२ : ०१
‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रवृत्ति’

काठमाडौँ । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ ।

नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गरिने व्यवस्था गरिएको छ ।

नगर उपप्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याईएको बताए । उनका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको छ ।

हिंसा पिडीत महिलाका र दशनामी तथा सन्यासी सामुदायका लागि पनि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आगमी आर्थिक वर्षका लागि रु ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए । 

एकल पुरुषलाई भत्ता 
कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८÷७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”

योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ ।

नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस