दाङ । वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएको समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो ।
त्यहाँ पु¥याउँदा बिरामीको अवस्था जटिल भइसकेको थियो । सम्भव नभएपछि त्यहाँबाट अन्यत्र सिफारिस गरियो । लमही अस्पतालमा बालिकाको मृत्यु भयो । “सर्पदंशमा उपचार थाल्न खोजियो, भेनल ओपन नै भएन”, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भने, “बिरामी अर्धचेत अवस्थामा थियो, विष चढिसकेकाले उपचार नै शुरु गर्न सकिएन ।”
सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने अस्पताल पु¥याउन कुनै अलमल गर्नु हुँदैन । त्यो ज्ञान सर्वसाधारणलाई नभएका कारण बिरामीको अकालमा ज्यान जाने गरेको आचार्यले बताए । सो गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुुरु गरिएको हो । उक्त उपचार केन्द्रमा तत्कालका लागि नेपाली सेनाले तीन तालीम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
राजपुर गाउँपालिका–३ निवासी १० वर्षीय सङ्गम यादवलाई गत वर्ष असार २६ गते विषालु सर्पले डस्यो । उपचारका लागि लमही ल्याउन खोजियो तर ढिला भयो । धान रोप्नका लागि खेत तयार पार्न सङ्गम बुबा–आमासँगै खेतसम्म पुगेका थिए । खेतको आलीमा उभिएको बेला सर्पले डसेको थियो । त्यसपछि सङ्गमको शरीरमा विष चढ्न थाल्यो । सर्पले डसेको आशङ्कामा आली खन्दा मुसा भेटिएको थियो । मुसाले टोकेको भनेर ढुक्क हुने अवस्था नभएपछि उपचारका लागि अस्पताल पु¥याउन थालियो । लमही पु¥याउन नपाउँदै बीच बाटोमै सङ्गमको मृत्यु भयो ।
“समयमा थाहा पाउन पनि सकिएन, बेहोस भएपछि सर्पले डसेको अड्कल गरियो”, बुबा गुरुप्रसाद यादवले भने, “सर्पले डसेर छोरा गुम्यो, उसलाई बचाउन सकिएन ।” दाङमा सर्पदंशका बिरामीले उपचारको अभावमा ज्यान गुमाउने गरेका छन् ।अस्पताल पु¥याउन ढिलो हुँदा सर्पदंशका बिरामीले अकालमा ज्यान गुमाउने गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ असार २०७८, १३ : ३०
लेखकबाट थप