काँग्रेसको १४ औं महाधिवेशन : रामचन्द्र पौडेलले पनि बोलाए भेला

संस्थापन पक्षबाटै सभापतिका आकांक्षीहरु धेरै

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ०८ : ४६
काँग्रेसको १४ औं महाधिवेशन : रामचन्द्र पौडेलले पनि बोलाए भेला

काठमाडौं । काँग्रेसका आगामी महाधिवेशनमा सभापतिका आकांक्षीहरुले धमाधम भेटघाटलाई तिव्रता बनाउँदै आफनो उम्मेदवारी घोषणा गर्न थालेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेताहरुको भेला बोलाएका छन् । संस्थापनभित्रैबाट सभापति शेरबहादुर देउवाले अन्तिमपटक कांग्रेसको नेतृत्व आफुले गर्ने भन्दै प्रदेश अनुसार नै पार्टी नेताहरुलाई अलग अलग बोलाएर सहयोग गर्न र तयारीमा जुटिदिन आग्रह गर्दै उम्मेदवारी अनौपचारिक रुपमा घोषणा गरिसकेका थिए ।

देउवालाई चुनौती दिने गरी संस्थापनमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले देउवालाई समेत आफु सभापतिमा भिडने भन्दै प्रस्ताव गरेका थिए । काँग्रेसका संस्थापक नेताहरु विपि कोइराला, गणेशमान सिंहका छोराहरु क्रमशः डा शसांक कोइराला, प्रकाशमान सिंह लगायत सँग समेत उनले अब नेतृत्व आफुहरुको पुस्तामा पुस्तान्तरण गरेर जानुपर्ने प्रस्ताव गरेका थिए ।

निधिले काँग्रेसकै युवा नेताहरुसम्मलाई समेत भेट गरेर आन्तरिक तयारी अगाडी बढाएका छन् । संस्थापनमै गोपालमान श्रेष्ठले पनि सभापति भिडने अनौपचारिक तहमा बताउन थालेका छन् । यस्तो बेला संस्थापन इतरमा भने अबको सभापतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा आकांक्षीहरुका वीचमा सम्वाद भएको छैन् । तर अनौपचारिक रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवारबाट डा शसांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत नेताहरु आकांक्षीका रुपमा देखिएका छन् ।

तर उनीहरुका बीचमा छलफल भएर साझा उम्मेदावर कसलाई बनाउने भन्नेमा छलफल भएको छैन् । संस्थापन पक्षका नेताहरु उम्मेदवारी घोषणा गर्दै अगाडी बढ्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तात्न थालेका छन् । पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा उनले बैठक बोलाइएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

पौडेल पक्षमा १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएका छन् । आकांक्षीको ब्यवस्थापनमा संस्थापन र इतर दुवै समुहका नेताहरुलाई सकस छ । पौडेल एकपटक प्रधानमन्त्री र पार्टी सभापति हुने रहरमा लागेको निक्कै भईसकेको छ ।

तर उनले जति मेहनत गर्दा पनि त्यो वातावरण पार्टीभित्र बन्न सकेको छैन् । त्यसकारण पनि उनी यसपटक फेरि पनि त्यो प्रयासमा जुटेका छन् । तर संस्थापन र इतर दुवै समुहमा पौडेल र देउवा दुवै उमेरका हिसावले अब पार्टी नेतृत्वबाट बिदा लिएर सम्मानजनक पदमा बस्नुपर्ने र पार्टी हाँक्न अर्को पुस्तालाई दिनुपर्ने पक्षमा देखिएका छन् ।