मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

रासस

बुधबार, ०९ असार २०७८, १५ : १३
मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं ।गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने,“प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ ।निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए  । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने ,“कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ । 

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग सडक बनाउन आवश्यक रहेको उनले बताए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस