पर्वत । बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ ।
उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ ।
महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले यहाँका झण्डै ५० भन्दा बढी कृषकले व्यावसायिक खेती शुरु गरेका हुन् । बस्तीभन्दा माथि रहेको हम्पालको जङ्गलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बिऊ किनेर खेती शुरु गरेको जलजला गाउँपालिका—९ का अध्यक्ष गौबहादुर पुनले बताए ।
त्यसैगरी जलजलाका एक दर्जनभन्दा बढी कृषकले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती शुरु गरिएको छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् ।
बिक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेको सतुवाका कृषक प्रेम पुर्जाले बताए । उनका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । पहिलोपटक खेती शुरु गरेकाले यति नै उत्पादन हुन्छ भन्न नसकिने कृषकहरुको भनाइ छ । यस वर्षको उत्पादनको परिमाण हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजनामा कृषकहरु रहेका छन् ।
डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा रु चार लाख अनुदान वितरण गरिएको वन अधिकृत मेघराज पौडेलले जानकारी दिए । उनका अनुसार यो अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ असार २०७८, १६ : २१
लेखकबाट थप