कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार, प्रतिक्रिया जनाउन थालिन्

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १६ : १४
कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार, प्रतिक्रिया जनाउन थालिन्

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो ।

अस्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले निशाको स्वास्थ्यमा सुधार आइरहेको बताए । चिकित्सकले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेका छन् । सबै विकल्प प्रयोग गरेर उनको उपचार गरिरहेको जलानले जनाएका छन् ।

अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन्। बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्। उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्। उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन्। ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ’, उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’

निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । मिडियामा समाचार आउन थालेपछि नर्भिक अस्पतालले उनको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस