भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

रासस

मंगलबार, ०८ असार २०७८, १५ : ५०
भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

झापा । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए ।सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताइन् । यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्न सहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।

पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस