बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहन्छौँ : मणि थापा

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १८ : २४
बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहन्छौँ : मणि थापा

file photo

काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन्।

नेता थापाले आफुहरु प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरेका छन्। यद्यपि उनले यदि केपी ओली पक्षधरहरुले आफूहरुबिना अघि बढ्न चाहे र कन्फ्युजनको राजनीति गर्न चाहे राम्रो नहुने पनि बताएका छन्।

उनले आफुहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्नका लागि ओलीको साथमा रहेको बताए।

ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍यौँ, त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो। हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहन्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो। त्यो प्रक्रियालाई पुरा गर्न चाहन्छौँ। त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ। हामी उपयोग भएको होइन। राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ। हामी ठिक ठाउँमा छौँ। यहाँ हामी संघर्ष गरेर फेरि नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुविकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ।’

नेता थापाले नेकपा एमालेको एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए। एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उनको भनाइ छ। एमाले एकताले आफुहरुलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडि बड्ने र डिवेटमा भाग लिन आफुहरु तयार रहेको पनि उनले बताए।

उनले भने, ‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ। उहाँहरु आउनुपर्छ। त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफुलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरुपनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन। ठुलो डिवेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ।’

नेता थापाले आफुहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारेका छन्। पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभई नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले उल्लेख गरे। पूर्व एमालेको एकतामा पूर्व माओवादीको समुह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रुवीकरणमा उनले जोड दिएका छन्।

उनले भने, ‘पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन। त्यो सम्भावना हिजो पनि थिएन। त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो। हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो। अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ। त्यो ध्रुवीकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरि ठूलो जनाधार भएको कम्युनिष्ट पार्टीको केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ। पुरानोले ध्रुवीकरण गर्न सक्दैन। माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन। नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ।’

उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको बताए। सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरुको असन्तुष्टि नरहेको उनले उल्लेख गरेका छन्। तर प्रधानमन्त्री ओलीले आफुहरुको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए।

उनले भने, ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रुपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ। प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ। बालुवाटार कन्फ्युज छन्, उनीहरुले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरुले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरुलाई राम्रो हुँदैन। हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन। सुझाव नमान्दा असन्तुष्टि पनि होइन।’

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समुहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए। उनले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए।
 

प्रतिक्रिया दिनुहोस