निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

रासस

सोमबार, ०७ असार २०७८, १६ : ४०
निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

भैरहवा । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रु एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।  उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो । 

तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रु एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रु दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुदैं कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।  

सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए । उनले भने , “तोकिएको समयभन्दा एघार महिना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महिना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ । ”

निर्माण सम्पन्न भएको पाँच महिनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रूत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले लुम्बिनीगेट अगाडी भने, “बाटोको गुणस्तर कमजोर छ । बनेर नसकिँदै भत्किन थालिसकेछ ।” चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रूतगतिमा गाडी चलाउन नपाएको बताए । 
 

प्रतिक्रिया दिनुहोस