समीक्षा

‘प्रेमदासको डायरी’ उपन्यासमा चित्रित प्रेमका अनेक रूप

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, ११ : १७
‘प्रेमदासको डायरी’ उपन्यासमा चित्रित प्रेमका अनेक रूप

–रमेश प्रभात

CG Developers Tansen Cement box

उठान
वि.सं. २०२८ सालमा उकालो साप्ताहिक पत्रिकामा ‘उकालो तिमी किन गीत गाउँदैनौ ?’ शीर्षकको कविता छपाएर विधिवत् रूपमा सहित्यिक यात्रा सुरु गरेका रेशम विरही (२००९) नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै त्यसभित्रका अन्तर्वस्तुलाई नजिकबाट केलाउने कुशल साहित्यशिल्पी हुन् । आफ्ना कृतिमार्फत् सामाजिक विकृति र विसङ्गतिको भण्डाफोर गर्ने विरही एक निर्र्भीक र निडर साहित्यकार पनि हुन्  ।

विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर रचनाहरू प्रकाशित गरेका उनका हालसम्म  ‘मुलाको बोक्रा र आलीमुनिको झ्याउँकिरी’ (२०३७), ‘भित्ताको रङ्ग’(२०५७), ‘मङ्गली गुप्ताको पान’ (२०६१), ‘थालथालमा सपना’(२०६९), ‘तुरुप’(२०७४) र ‘सातौँ बादशाहको रातो कोट’ (२०७७) जस्ता छवटा कविता सङ्ग्रह, ‘सुन्दरबस्ती’ (२०६८) बालकाव्य, ‘देब्रे आँखा’(२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) निबन्ध सङ्ग्रह तथा ‘आधारभूत पत्रकारिता शिक्षा’(२०६०)पाठ्यसामग्री एवम् ‘प्रेमदासको डायरी’(२०७३) उपन्यास गरी हालसम्मएघारवटा कृतिहरू प्रकाशित भइसकेका छन् । विशेष गरी कविता र निबन्ध क्षेत्रमा चर्चा कमाएका विरही एउटा मात्र उपन्यास लेखेर पनि उपन्यास लेखनमा समेत सफल व्यक्तित्व मानिन्छन् । हालसम्म उनको उपन्यासका बारेमा विभिन्न अध्ययनहरू भइसकेका छन् । यहाँ अलि पृथक कोणबाट उनको ‘प्रेमदासको डायरी’उपन्यासलाई पर्गेल्ने काम गरिएको छ ।

‘प्रेमदासको डायरी’ उपन्यासको कथावस्तु
‘प्रेमदासको डायरी’ जम्मा ३१० पृष्ठमा फैलिएको कुटीमा कथारम्भ, आकार, अवतार, अभिसार र कुटीमा कथान्त गरी मुख्यपाँच भाग र २५ खण्डमा विभाजित रहेको यथार्थवादी उपन्यास हो । यो उपन्यास पूर्वदीप्ति शैलीमा लेखिएको छ । यसमा पञ्चायत काल, २०३६ को विद्यार्थी आन्दोलन, २०३७ को जनमत सङ्ग्रह, २०४६ को जनआन्दोलन, प्रजातन्त्र काल, दशवर्षे जनयुद्ध र त्यसपछिको २०६२ को जनआन्दोलनतथा त्यसबाट भएको प्राप्तिले दुःखी नेपाली जनताको स्तर नउठेको कुरालाई मिहिन ढङ्गले उठाइएको छ । यसमा गोरखा, चितवन, काठमाडौँ, नेपालगञ्ज, बर्दियाजस्ता नेपाली भूभागका अतिरिक्त भारतीय भूमिका लखनऊ, बम्बई, कश्मिर, बनारसजस्ता भूभाग मुख्य रूपमा आएका छन् ।

‘कुटीबाट कथारम्भ’ शीर्षकबाट आरम्भ गरिएको यस उपन्यासमा नेपालगञ्जको वीपी चोक, त्रिभुवन चोक, सदरलाईन, धम्बोझी चोक, त्रिवेणीमोड, फुल्टेक्रा शिवमन्दिर र त्यस वरिपरिको क्षेत्रलाईलाई चित्रण गरिएको छ । जोगीको भेषमा रहेको प्रेमदास अर्थात् कुनै समयका आदर्श राजनीतिज्ञ प्रभाकर धितालको भेट नेपालगञ्जमा चम्पादेवीसँग भएपछि उनीसँगै आफ्नो कुटीतिर लाग्छन् । कुटीमा पुगेर चम्पादेवीले आफ्नो पति रामु, साथी कविता, छन्दबहादुर आदिका बारेमा जिज्ञासा राखेपछि प्रेमदासले विगतका घटनाहरूलाई डायरीमा लेखेर राखेको कुरा बताउँदै त्यसलाई राम्रोसँग पढ भनी डायरी हातमा थमाएको घटनासँग यो अध्याय सकिन्छ ।

‘आकार’ नामकरण गरिएको यस उपन्यासको दोस्रो अध्यायबाट मात्रै कथानकले गति लिएको पाइन्छ । यसमा नायक प्रभाकर धितालका साथै बिर्खबहादुर भुजेलको परिवारको चित्रण गरिएको छ । बिर्खबहादुरले आफ्नो पेन्सन काटिएको कुरा गरेसँगै यो अध्याय सुरु भएको छ । उनीहरू कमारोबाट मुक्त भएपछि गोर्खा ढाक्रेपानीबाट बसाइँसराइँ गरेर चितवन आएको र त्यहाँ दुःख पाएको घटना चित्रण गरिएको छ । सक्रिय रूपमा आन्दोलनमा लागेका छन्दबहादुरले बर्दियामा जग्गा बाँडेको छ भन्ने थाहा पाएपछि उतै जाने निधो गरेको र सबै खुसी भए पनि छोरी बनाएर घरमा पालिएकी कविता भने खासै खुसी नभएको प्रसङ्गसँगै यो अध्याय समाप्त भएको छ । 

उपन्यासको तेस्रो अध्यायलाई ‘अवतार’ नाम दिइएको छ । यसमा प्रभाकर धिताल अर्थात् प्रेमदासले आफ्नो कथा भनेका छन् । २०३६ सालको जनमत सङ्ग्रह घोषणा भएपछि प्रभाकरलगायत धेरै आन्दोलनकारीहरू जेलबाट छुट्छन् । जनमत सङ्ग्रह घोषणा गरेपछि मण्डले र बहुदलवादीका बीचमा जनतालाई सचेत गराउने जागरण अभियान सञ्चालन भएकोमा मण्डलेहरूले मासुभात खुवाएर जनतालाई किन्न खोज्दा प्रभाकरले रामधुलाई गरी लखेट्छ । त्यसपछि प्रभाकरमाथि मान्छे मारेको भनी हत्या आरोप लागेपछि प्रभाकर चितवन छाडेर काठमाडौँ बस्न थाल्छन् । पछि चितवन रत्ननगरको बकुल्लहर चोकमा आमसभाको आयोजना हुँदा प्रभाकर, चम्पा, रामु लगायत पक्राउ पर्छन् । उनीहरूलाई लाठी चार्ज गर्दै गाडीमा हाली वीरगञ्ज जेलमा लगी चरम यातना दिइन्छ ।

रामु र प्रभाकरलाई जङ्गलमा लगी भाग्न लगाएर दुबैमाथि प्रहरीले गोली चलाइन्छ । रामुको गोली लागेर मृत्यु हुन्छ भने प्रभाकर भने संयोगले बाँच्छन् । घाइते भएका उनलाई उपचारको निम्ति ठोरी नाकाबाट नरकटियागञ्ज लगिन्छ । त्यहीँ उसको स्वरूपा घोषसँग परिचय र गहिरो मित्रता हुन्छ, जुन अव्यक्त पे्रम जस्तो पनि देखिन्छ । स्वरूपाको बाबु मारिएको खबर सुनेर ऊ स्वरूपालाई भेट्न बम्बईतर्फ लाग्छ । बम्बई यात्राका क्रममा अनुराधा सोठीसँग रेलमा उसको परिचय हुन्छ । करिब एकदिन रेलमा सँगै यात्रा गरिएकी युवती अनुराधासँग उसको मनमा अव्यक्त प्रेम बस्न पुग्छ । स्वरूपा घोषसँग भएको परिचयकै आधारमा उसले बनारसमा स्वामी आनन्द नारायणसँग दर्शनका बारेमा अध्ययन गर्ने अवसर पाउँछ ।

करिब एक दशकको बनारस बसाइबाट दिक्क भएपछि स्वामीसँग बिदा भएर नेपालमा आएर नेपालगञ्जको फुल्टेक्रामा आएर शिव मन्दिरमा स्वामी भई बस्न थालेको घटनाबाट यो अध्याय समाप्त भएको छ । ‘अभिसार’ नामकरण गरिएको उपन्यासको चौथो अध्यायको सुरुवातमा प्रभाकर सामान्य सन्यासी र फुल्टेक्रा शिव मन्दिरको पूजारीको रूपमा प्रस्तुत भएको पाइन्छ । उनले कुटीमा सात महिना बिताएको र बिहान बेलुका मन्दिरमा पूजा गर्ने र दिउँसो नेपालगञ्ज वरिपरिको घटनाको अध्ययन र अवलोकन गर्ने गरेको देखाइएको छ । यस्तैमा एकदिन अनायास कवितासँग उसको भेट हुन्छ । उसलाई कुटीमा ल्याएपछि रातभरि उसले आफ्नो सुख–दुःखका कथा भन्छे । परिवारका सबै सदस्यको विभिन्न निहुँले मृत्य भएपछि कविताले आफू आन्दोलनमा होमिएको कुरा गर्छे । आन्दोलनकै क्रममा गोली लागेर उसले शहादत प्राप्त गर्छे ।

अन्त्यमा उसको नासोका रूपमा रहेका पोको सानैमा हराएको देवर टुकबहादुर फर्केपछि जिम्मा लगाइन्छ । यसरी कविताको प्रसङ्मा यो अध्याय केन्द्रित रहेको छ । ‘कुटीमा कथान्त’ शीर्षक दिइएको उपन्यासको अन्तिम तथा पाँचौँ अध्यायमा कथावाचक प्रभाकर अर्थात् स्वामी प्रेमदास र चम्पादेवी बीचको संवाद रहेको छ । यस खण्डमा प्रभाकरले दिएको डायरी पूरै पढेपछि चम्पाले आफूले उत्तर खोज्न चाहेका सबै कुरा थाहा पाएको बताउँछे । त्यस्तै प्रभाकरले आफूलाई मन पराएको कुरा पनि थाहा पाउँछे तर उसले आत्महत्याको निर्णय गरेको कुरा प्रभाकरलाई सुनाउँछे । प्रभाकरले उसलाई सम्झाउँदै आत्महत्या गलत भएको कुरा उसलाई राम्रोसँग बुझाउँछ ।

अबको बाँकी जीवन उसले चम्पासँग बिताउन चाहेको कुरा बताएपछि उनीहरू सहमतिमा पुग्छन् र राति नै कुटीबाट अलप हुन्छन् । यसरी मिलनमा पुगेर उपन्यासको अन्त हुन्छ ।

‘प्रेमदासको डायरी’ उपन्यासमा चित्रित प्रेम
राजनीतिक विषयवस्तुमा बुनिएको ‘प्रेमदासको डायरी’ उपन्यासका विभिन्न ठाउँमा प्रेमका प्रसङ्गहरू पनि आएका छन् । वैराग्य धारण गरेका नायकले समेत आफ्नो नाम स्वामी प्रेमदास राख्नु यसको ज्वलन्त नमुना हो । उपन्यासभित्र वर्णित त्यस्ता प्रेमहरूमा कविता र सङ्गीत खवासको असफल प्रेम, कविता र छन्दबहादुरको विवाहपछिको वास्तविक प्रेम, नायक प्रभाकर धिताल उर्फ प्रेमदासले युवाकालमा स्कुल पढाउँदै गर्दा चम्पालाई भित्री हृखयदेखि मन पराएर एकोहोरो रूपमा गरेको प्रेम, आफ्नो घाउको उपचार गराउन ठोरी नाका हुँदै भारतको नरकटियागञ्ज जाँदा त्यहाँ भेट भएकी नर्स स्वरूपा घोषसँग भएको बसउठका क्रममा ऊसँग भएको आत्मिक प्रेम, स्वरूपा घोषलाई भेट्न भनी बम्बई जाने क्रममा रेलयात्रामा परिचय भएकी एकदिनकी सहयात्री अनुराधा सोठीसँग भएको अनौठो प्रेमजस्ता कुरालाई उपन्यासमा चित्रित प्रेमका रूपमा लिन सकिन्छ ।

अन्य पात्रका प्रेम आक्कल झुक्कल रूपमा मात्र देखिएकाले तिनलाई छाडेर यहाँ उपन्यासको नायक प्रभाकरले जीवनमा विभिन्न युवतीलाई प्रेमिकाका रूपमा देख्ने गरेको कुरालाई आधार बनाई उपन्यासको विश्लेषण यसरी गरिएको छ :

प्रभाकर धिताल अर्थात् स्वामी प्रेमदासको प्रेम 
‘प्रेमदासको डायरी’ उपन्यासले जीवनमा जनताको मुक्तिका लागि भूमिगत राजनीतिमा होमिएको प्रभाकर धितालको जीवनका विविध आयामलाई विषयवस्तु बनाएको छ । उपन्यासको नायक प्रभाकर धिताल जीवनबाट विरक्त भएपछि सन्यासी बन्छ र आफ्नो नाम स्वामी प्रेमदास राखेर नेपालगञ्जको फुल्टेक्रा शिव मन्दिरको पूजारीको रूपमा जीवन बिताउन थाल्छ । उसले जीवनमा विभिन्न युवतीलाई प्रेमिकाका रूपमा देख्ने गरेको कुरालाई आधार बनाएर उपन्यासमा वर्णित प्रेमलाई यसरी व्याख्या गर्न खोजिएको छ :

चम्पा र प्रभाकर धिताल अर्थात् प्रेमदासको प्रेम
प्रभाकर धिताल पञ्चायत कालमै बी.ए. पढ्दै गरेको एउटा सम्भ्रान्त बाबुको छोरो भएर पनि उसमा जनताको मुक्तिको चाहना तीब्र भएका कारण राजनीतिमा लाग्न पुग्छ । उसले परीक्षा दिएपछि केही समय विद्यालयमा शिक्षकका रूपमा काम गर्छ । यसरी पढाउने क्रममा उसले मनमनै कक्षा दशमा पढ्दै गरेकी छात्रा चम्पालाई मन पराउँछ र भित्री हृदयमा प्रेम बसेको कुरालाई तलका साक्ष्यले पुष्टि गर्छन् :

साक्ष्य १    
मैले विद्यालयमा पढाउँदा उसको अनुहारमा कुटिल दृष्टिपात पनि गरेको थिएँ । जतिबेला म वैवाहिक जीवन आरम्भको सङ्घारमा थिएँ । उसप्रतिको मेरो आशक्ति समयोचित र स्वाभाविक पनि थियो । (पृ.१०३)
साक्ष्य २
अचानक मेरो मन विद्यालयमा पढाउँदा दश कक्षाकी छात्रा चम्पाको स्मृतिमा गएर ठोक्कियो । रेलले शरीर हल्लाएझैँ यी दुई स्मृतिका तरङ्गले मेरो मानसमा भुमरी पारिह्यो । (पृ. १९४)
साक्ष्य ३
‘हो चम्पा म आज धेरै बेचैन छु । मलाई यो योगी आवरणबाट मुक्ति चाहिएको छ । म तिमीसँग मुक्तिको लागि भिक्षा माग्छु दिन सक्छ्यौ ?’ उसको भाषाको शब्दार्थ पटक्कै बुझिन चम्पाले । (पृ. ३०६)
साक्ष्य ४
एकरात एउटा कुटीमा इतिहासका नुनिला थोपाहरू पिएर बिताएको समयले नयाँ गति लियो । विगतलाई स्मृतिको एउटा कुनामा थुपारेर शून्यबाट सृष्टिको सौन्दर्य अनुभव गर्न र सत्य स्थापित गर्न उनीहरू अग्रसर भए ।

प्रभाकर धितालको शरीरमा अब पीतवस्त्र थिएन । नयाँ परिधानमा तयार भयो । र राति नै आफ्ना महत्वपूर्ण सामानहरू राखेको झोला र सुटकेस हातमा लिएर बाहिर निस्कियो ।
चम्पा उसको पछि लागी । (पृ. ३०८)

माथिको पहिलो साक्ष्यमा विद्यालय पढाउँदै गर्दा चम्पालाई मन पराएको र उसँग विवाह गर्न चाहेको कुरा गरिएको छ, तर परिस्थितिका कारण यो चाहना पूरा हुन पाउँदैन । त्यस्तै दोस्रो साक्ष्यमा प्रभाकरले आफ्नो विगतलाई सम्झँदै चम्पाप्रतिको अनुरागको स्मरण गरेको छ । माथिको तेस्रो साक्ष्यमा आफू करिब ५५–५६ वर्षको उमेरमा टेकिसकेको स्वामी प्रभाकरले प्रौढतातर्फ लाग्दै गरेकी त्यस्तै ४२–४३ वर्षकी चम्पालाई अचानक भेटेपछि उसमा पुरानो प्रेम जाग्रत भएको देखाइएको छ । आफ्नो डायरी पूरा पढिसकेकी चम्पालाई आफूले पहिला मन पराएको कुरा थाहा भएकाले आज पनि सोही मुताविक योगी आवरण त्यागेर घरबार बसाउन चाहेको कुरा गरेको छ ।

त्यस्तै चौथो साक्ष्यमा स्वामी प्रेमदासले जीवनको पछिल्लो चरणमा आफ्नो योगी आवरण त्यागेर घरबार बसाउन आफू व्यक्तिगत रूपमा तयार मात्र हुँदैन, चम्पालाई मनाएर आफ्नो योजना सफल पारेरै छाडेको देखाइएको छ । यसरी करिब अढाइ दशक चम्पालाई मनमा बोकेर हिँडेको प्रभाकर अर्थात् प्रेमदासले जीवनमा बुढ्यौली उमेर लागेपछि विवाह बन्धनमा बाँधिएर आफ्नो योगी आवरण त्यागेर घरबार जोड्नतर्फ प्रवृत्त हुनु भनेको प्रेम मात्र नभई प्रेमको प्राप्ति पनि हो भन्न सकिन्छ । नाटकीय लाग्ने उपन्यासको अन्तमा प्रेमको जीत गराएर टुङ्ग्याउने काम उपन्यासकारले गरेका छन् ।

स्वरूपा घोष र प्रभाकरको प्रेम
राजनीतिमा होमिएर वीरगञ्ज जेलमा परेको प्रभाकरलाई प्रहरीले हत्या गर्ने मनसायले जङ्गलमा लगेर भाग्न लगाउँदा खुट्टामा गोली लागेर पनि भीरबाट चिप्लिएका कारण बाँच्छ । यसरी घाइते भएको उसलाई उपचार गराउन ठोरीको बाटो हुँदै भारतीय भूमिको नरकटियागञ्ज पु¥याइन्छ । त्यहीँ उसको स्वरूपा घोषसँग चिनजान हुन्छ । पार्कमा घाम तापेर बस्दा भएको चिनजान मित्रतामा मात्र नभई अव्यक्त प्रेमी प्रेमिकाका रूपमा विकसित हुन्छ । चिनजान भएको करिब आठ वर्षपछि स्वरूपाको बाबुको हत्या भएपछि उसलाई भेट्न भनेर ऊ बम्बई जान्छ । त्यहाँ उसले स्वरूपाबाट प्रेमिल व्यवहार पाउँछ, तर उसको मनमा ज्ञानको भूत चढेकाले त्यहाँ रोकिँदैन । प्रभाकर र स्वरूपाका बीचमा बसेको प्रेमलाई तलका साक्ष्यले पुष्टि गर्छन् :

साक्ष्य १
लखनौ जाने रेलको प्रतीक्षामा म र स्वरूपा एउटा बेन्चमा बस्यौँ । उसको पहिलेको परिहासपूर्ण तर उत्तप्त अनुहार ओइलाएको सागजस्तै थियो । भत्किएको केशविन्यास र सामान्य कुर्ता सलवारमा मेरो बिदाइका लागि आइपुगेकी थिई ऊ । उसले मेरो झोला तानेर चेन खोली । एउटा सानो केही वस्तुको प्याकेट झोलामा घुसारी र चेन लगाई । (पृ. १४८)

साक्ष्य २
‘अनि तिम्रो आज ड्युटी थिएन ?’ मैले सिटी ट्रेनको सिटमा बस्दै स्वरूपालाई सोधेँ ।
‘अरे बुद्धु नेपाली ! तिमी आउने खबर पाउनासाथ मैले तिम्रो लागि एक हप्ताको छुट्टी लिएकी छु ।’
‘जम्मा एकहप्ता मात्र राख्ने ? म त महिनाभर बस्ने मुडमा थिएँ ।’ मैले ठट्टा गर्न खोजेँ ।
‘आजीवन बस्छु भन्ने हिम्मत गर न ! छ हिम्मत ?’ उसले व्यङ्ग्य गरी । (पृ. १९१)

साक्ष्य ३
‘ठीक छ, म पनि तिमीलाई बुझ्दछु । तिमी काश्मीर जाऊ । बनारस जाऊ, अध्ययन गर तर मेरो आराधनाको मन्दिर नभत्काऊ ।’ उसले भावुक हुँदै भनी र रित्तो गिलास लिएर कोठाबाट बाहिर निस्की । (पृ. १९३)

माथिको पहिलो साक्ष्यमा छोटो समयको चिनजानकी युवतीले छुट्टिने बेलामा युवकको झोलामा उपहार राखिदिएको देखाइएको छ । यसरी छुट्ने बेलामा उपहार दिनु भनेको मायाको चिनो दिनु पनि हो । यसबाट प्रभाकरप्रति स्वरूपा प्रेमिल देखिएको र त्यसबाट प्रभाकर पनि अछुतो नरहेको देखाइएको छ । माथिको दोस्रो साक्ष्यमा प्रभाकरले ठट्टा गर्दा स्वरूपाले जीवनभर राख्ने कुरा गर्दै उसँग त्यो हिम्मत छ ? भनी उल्टो प्रश्न गरेकी छ । यसमा उसको प्रेम सतहमा देखिएको छ, तर प्रभाकरले कुनै जवाफ दिन सकेको छैन । त्यस्तै तेस्रो साक्ष्यमा स्वरूपाले प्रभाकरलाई प्रतीक्षा गर्ने कुरा गरेकी छ । यसमा प्रभाकरले कुनै जवाफ नदिएकोबाट उसको मनमा पनि प्रेम रहेको बुझिन्छ ।

अनुराधा सोठी र प्रभाकरको प्रेम
पितृशोकमा परेकी स्वरूपा घोषलाई सान्त्वनाका शब्दले सम्झाउन नेपालगञ्जबाट बम्बईतर्फ हिँडेको प्रभाकरसँग रेलयात्राका क्रममा भारतको उनउ स्टेशनदेखि झाँसीसम्म करिब दश घण्टासँगै यात्रा गरेकी अनुराधा सोठीसँग चिनजानपछि घनिष्ठ मित्रता भयो । त्यो मित्रता अव्यक्त प्रेममा विकसित भयो । जसलाई तलका साक्ष्यले पुष्टि गर्छन् :

साक्ष्य १
मेरो मन उसका गम्भीर र प्रेमपूर्ण व्यवहारले फुरुङ्ग हुन्थ्यो तर निमेषभरमै आफ्नो जीवनको गति र अवस्था सम्झिएर खङ्ग्रङ्ग पनि हुन्थ्यो । ऊ प्रति बढिरहेको आशक्ति प्रेममा रूपान्तरण हुने कुनै सम्भावना थिएन । (पृ. १८१)

साक्ष्य २
म हतप्रभ भएँ । उसले मेरो दाहिने हात च्याप्पै समाती । च्युँडो मेरो कुममा टेकाएर भनी, ‘के हाम्रो दोस्रो भेट सम्भव होला ?’ (पृ. १८२)

साक्ष्य ३
म रेलभित्रको सिटमा बसेपछि उसले मलाई झ्यालबाट एउटा प्याकेट दिई र भनी, ‘यो आज राति खानुहोला ।’
ऊ पूर्ण रूपमा ग्रहणले छोपेको चन्द्रमा जस्तो अनुहार बनाएर हिँडी । रेल दगु¥यो । (पृ. १८४)

माथिको पहिलो साक्ष्यमा । माथिको दोस्रो साक्ष्यमा यात्रामा भरखर चिनजान भएकी युवतीले अर्को युवकको हात च्याप्प समाएको, कुममा च्युँडो अड्याएको र अब दोस्रो भेट होला कि नहोला भनी चिन्ता व्यक्त गरेको देखाइएको छ । यसमा नायक प्रभाकर पनि चुर्लुम्म डुबेकाले यसलाई उसको अर्को प्रेमका रूपमा लिन सकिन्छ । त्यस्तै तेस्रो साक्ष्यमा प्रभाकरसँग छुट्टिने बेलामा अनुराधाले बाटोमा खानका लागि प्याकेट दिएको, उसको मुहार मलिन भएको कुरा आएको छ । भर्खरै चिनजान भएका दुई विपरीत लिङ्गीका बीचमा भएको यस्तो व्यवहारले प्रेमको सङ्केत गर्छ । यी साक्ष्यले प्रभाकर र अनुराधाका बीचमा छोटो भेट, लामो सम्झना मात्र होइन अव्यक्त प्रेमको समेत पुष्टि गर्छन् ।

प्रभाकरका मनमा अनुराधा र स्वरूपाका बारेमा आएका तुलना र प्रेमयुक्त भावना
उपन्यासको नायक प्रभाकरले जीवनका विविध समयमा आफूले भेटेका र मन पराएका युवतीहरूमध्ये भारतीय नारीहरू अनुराधा सोठी र स्वरूपा घोषलाई बिर्सन सकेको छैन् । तिनका प्रेमिल व्यहारलाई मनमा बोकेर हिँडेको उसले मनमनै तिनको तुलना समेत गर्न पुग्छ । जसलाई तलका साक्ष्यले पुष्टि गर्छन् :

साक्ष्य १
उसको सामान्य आवरणले ऊ मध्यमवर्गीय परिवारकी जस्ती देखिन्थी । उसको सौन्दर्य पनि मध्यम खालको थियो । अनुहार र शरीरको बनोट झण्डै स्वरूपासँग मिल्दोजुल्दो नै थियो । स्वरूपा गोरी थिई । यो अलि रातो वर्णकी । वास्तवमा यो पनि स्वरूपाभन्दा कुनैमा पनि कम योग्यता योग्यताकी भने थिइन । ऊ नर्स थिई, यो शिक्षिका । बरु ऊ अल्लि खस्री थिई, यो अल्लि नरम छ । मेरो तराजु तलमाथि भइरह्यो । (पृ. १७९)

साक्ष्य २
दश वर्षभन्दा बढी समयको सामीप्य र हिमचिम भएकी स्वरूपाभन्दा दश घण्टा मात्रको सहयात्री अनुराधा सोठीको सम्झना मेरो मनमा झनै गढेको थियो ।
.....
उसको अव्यक्त प्रेम याचना मेरा लागि असाध्य कष्टकर विषय थियो । र उसलाई चटक्कै बिर्सिएर कथान्त गर्नु पनि मानवीय सम्बन्धको उपहास हो । (पृ. २१३)

माथिका साक्ष्यहरूमध्ये पहिलो साक्ष्यमा प्रभाकरले अनुराधा र स्वरूपाको शारीरिक बनावट तथा व्यवहारको तुलना गर्दै उनीहरूको स्मरण गरेको छ भने दोस्रो साक्ष्यमा दश वर्षको मित्रता रहेकी स्वरूपा र दश घण्टाको सामीप्यता भएकी अनुराधाको तुलना गर्नुका साथै अनुराधालाई चटक्कै बिर्सन नसकेको अवस्थाको चित्रण गरिएको छ । यसरी जीवनमा भेटिएका युवतीहरूको यादलाई मनमा बोकेर हिँड्ने मात्र होइन त्यसबाट बेलाबेलामा विचलित हुनु भनेको उनीहरूको प्रेमबाट प्रभावित हुनु पनि हो भन्ने कुरा माथिका साक्ष्यले पुष्टि गरेका छन् ।

समग्रमा उपन्यासको नायक प्रभाकर धिताल उर्फ स्वामी प्रेमदासको जीवनलाई नियाल्दा उसले जीवनभर मनमा विभिन्न नारी र उनीहरूको प्रेमलाई बोकेर हिँडेको छ । उसले राजनीति गर्दा होस् कि भूमिगत बस्दा होस्, राजनीति छोडेर व्यापारको नाटक गर्दा होस् वा जीवनबाट विरक्त भएर धार्मिक अध्ययन अनुसन्धानमा लाग्दा होस् आफ्नो मनमा प्रेमको चिराग बाँलेर हिँडेको हिँड्यै छ । जीवनमा सन्यासी बनेर हिँड्दा समेत मनको अन्तरकुन्तरमा प्रेमलाई मर्न दिएको छैन भन्ने कुरा चम्पासँग अनायास भेट भएपछि सन्यासी जीवन त्यागेर रातारात गृहस्थीमा प्रवेश गरेकाले पुष्टि गरेको छ । यसर्थ प्रेमदास प्रेम गर्नकै लागि जन्मिएको हो भन्ने कुराको पुष्टि उपन्यासमा गरिएको छ ।

समापन
अन्त्यमा, आफू साहित्यको पाठक मात्र नभई भाषा साहित्यको एउटा शिक्षक पनि भएको हुनाले वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा पढाउन थालेको पनि करीब एक दशक हुन लाग्यो । यो अवधिमा मैले त्यहाँका थुप्रै विद्यार्थीहरूलाई शोध गराउने मौका पाएँ । ती मध्ये मेरै निर्देशनमा ‘प्रेमदासको डायरी’ उपन्यासमाथि सबाल्टर्न चेतनाका कोणबाट सरोज दवाडीले र सोही उपन्यासमाथि प्रगतिवादी कोणबाट गणेश तामाङले शोधकार्य पूरा गरिसकेका छन् ।

यति गरिसक्दा पनि यो कृतिमाथि केही नपुग भएको जस्तो मनमा लागिराखेको थियो । सो अवस्थाबाट मुक्त हुन यसका नायक प्रेमदासलाई लिएर उसको अविवाहित जीवन, यायावरी प्रवृत्ति र कुनै युवतीलाई भेट्ने वित्तिकै उसको प्रेममा परिहालेको जस्तो सोच्ने स्वभावलाई लिएर एउटा आलेख तयार पार्ने विचार आयो, जसलाई यस रूपमा पूरा गरेँ । राजनीति गरे पनि, भूमिगत बसे पनि, व्यापार गरे पनि, अध्ययन अनुसन्धानमा लागे पनि, सन्यासी बने पनि प्रेमदासको मनमा प्रेमको दीयो निभेको छैन । आशारूपी प्रेमको यो दीयोलाई जीवनको उत्तराद्र्धमा भए पनि उसले साकार पारेरै छाडेको छ । यो, नै यो आलेखको निष्कर्ष हो । आशा छ, यसले पाठकका मनमा उठेका केही खुल्दुली अवस्य मेटाउने काम गरेको हुनुपर्छ । अस्तु ।

(लेखक वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस