सरकारको ‘स्मार्ट लकडाउन’ : सिडिओहरु नै अलमलमा

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, ०९ : ५०
सरकारको ‘स्मार्ट लकडाउन’ : सिडिओहरु नै अलमलमा

काठमाडौँ । सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउन गर्ने बताइरहँदा यसलाई कार्यान्वयनमा ल्याउने सिडिओहरु नै अलमलमा परेका छन् । राजधानी काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउन सरकारले स्मार्ट लकडाउन लगाउने बताएको छ । 

उपत्यकामा निषेधाज्ञा पुनः लम्ब्याउने तयारी भइरहेको छ । उपत्यकाका तीन जिल्लाका सिडिओहरु नै निषेधाज्ञा लम्ब्याउन तयारीमा जुटिरहेका छन्, तर उनीहरु स्मार्ट लकडाउनबारे अलमलमा छन् । स्मार्ट लकडाउन गरिने भनिएको छ,तर स्मार्ट लकडाउनबारे प्रमुख जिल्ला अधिकारीहरुनै बेखबर छन् । उपत्यकका सिडिओहरुले आफूहरुलाई स्मार्ट लकडाउनबारे थाहा नभएको बताए । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले ‘स्मार्ट लकडाउनबारे थाहा छैन तर भोलिबाट पुनः निषेधाज्ञा लम्ब्याउने तयारीमा जुटेको बताए । उनका अनुसार सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन चल्न पाउने, व्यापारिक संस्थाहरु बार तोकेर खोल्ने गरी एक सातादेखि १० दिनसम्मको निषेधाज्ञा जारी हुनसक्ने छ । 

त्यस्तै, काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‘स्मार्ट लकडाउन’ बारे कम ज्ञान भएको बताउँदै निषेधाज्ञा केही खुकुलो पार्ने बताए । गत बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । संक्रमणको जोखिम रोक्ने रणनीति अवलम्बन गरेर अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्ति व्यवस्था सहज गर्ने निर्णय बैठकले गरेको थियो ।

अबको साता जारी लकडाउन कायमै राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो । महामारीबाट बच्न लकडाउन र निषेधाज्ञा पालना गरिसकेका जनताले अब लागू हुने ‘स्मार्ट लकडाउन’बारे अनभिज्ञता जाहेर गर्दै यसबारे चासो राख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस